Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

माया पोखरेलले यसरी सम्झना गरिन आफ्नो बाबालाइ

   
367   पटक पढिएको

मेरो अस्तित्व नै मेरा बा !

मेरि आमाद्वारा सुनियोजित रूपमा खडा गरिएको पात्र कुनै तिलस्मी कथाको जादुघर जस्तै लाग्थ्यो ।
लाग्थ्यो तपाईंका केशहरु एन्टिना हुन, जो आमाका आँखा पढेर मेरा दिनभरिको बिरामका हिसाब लिन सक्थे र आफ्ना आखाका रिमोटले नबोलिकनै मेरा क्रियाकलाप नियन्त्रण गर्न सक्थे ।

मेरि आमाको साम्राज्यको दण्डादिकारी !जब आमाले मलाई गाली गर्नुहुन्थ्यो म भागेर तपाईंको काखमा गएर लुक्थे । धेरै याद आउँछ बा कहिले तपाईंको दौराको फेरा समाएर तपाईं बाहिर जाँदा पछि लागेको त कहिले तपाईंको हात समाएर लेकबेशी पाखापखेरा खोलानाला डुल्दै पितामोहमा भुलेको ।तपाईं साह्रै यान्त्रीक लाग्थ्यो बा ! चापाकल जस्तैहाम्रा बोझले पटकपटक थिचिदै हाम्रो प्यास मेटाउनुहुन्थ्यो ,हातका नङ्ग्रा खियाउदै ,आफ्ना ईच्छा चाहना ,सपना ,मन मस्तिष्क ,जवानी सबथोक मेटेर हाम्रो प्रगतिको ईन्धन भर्दै पुर्याउनुहुन्थ्यो सपनाको एकादेश ।

आमाको छायाले ओझेलमा परेको पात्र मेरा बा साह्रै मानविय अनि हठी ,तपाईं गुरुत्वाकर्षको नियम मान्नुहुन्नथ्यो र त मलाई आफ्नो काधबाट कहिल्यै भुईमा खस्न दिनुभएन आफू घुँडा टेकेर पनि ,तपाईं अर्थशास्त्रको नियम मान्नुहुन्थ्यो र त मलाई कहिल्यै बेखर्ची हुन दिनुभएन आफू रित्तै भएर पनि ।तपाईंका शिरका केश बरबरी झरिरंहदा ,तालु खुईलिदै गर्दा ,मुहार फुस्रीदै गर्दा तपाईंकै काधमा शिर टेकाई अझै गफिन मन थियो बा ,तपाईंका चाउरिएका गालाका प्रत्येक पाना पल्टाएर अझै पढ्न मन थियो जिन्दगीको महाकाब्य ।

स्वार्थी दुनियाँ अनि बेईमानी चलनले दिएका पिरका भारी तपाईंको पैतालामा फ्यात्त बिसाउन मन थियो। मेरो संसार जित्ने तागत मेरो ईज्जत् मेरा बा आजभोलि धेरै चुप हुनुहुन्छ ,अचेल घरमा तपाईंले छोरी भन्दै बोलाएको सुनिदैन । म रुँदा रुने होइन ,जे परेपनी म छु नि भन्दै सम्झाउने आधार भेटिदैन अचेल ।
साह्रै एक्लि भएकि छु बा आजभोली दुनियाँको भिडमा भएर पनि ,तपाईं त जानुभयो नि एकादेश अनि मिल्नुभयो नि गंगाजलमा ,त्यही तपाईं मिलेको गंगाजलमा आफुलाई पनि मिलाई चोख्याउनुछ छिट्टै ,भेट्नु छ तपाईंलाई ।

तपाईं अविरल बगिरहनुहोस जसरी बग्नुभएको छ ,म किनारामा बसेर तपाईंलाई अघाउन्जेल हेरिरहन्छु ,अघाउन्जेल हेरिरहन्छु ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया