Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जस्तोसुकै चुनौती बीच पनि जिम्मेवारी पुरा गर्छु : सूर्य थापा

   
159   पटक पढिएको

काठमाडौं। २०७७ असोज १६ गते अपरान्ह १२ः०० बजे। बालुवाटारमा दोस्रोपटक स्वाब संकलन हुँदै थियो। सोचेकै थिएनौं रिपोर्ट पोजिटिभ आउँला भनेर १ तर, शनिबार दिउँसो रिपोर्ट नसोचेको आयो। सुरुमा त पत्याउनै सकिनँ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई टेलिफोन गरें। उहाँहरूले पनि रिपोर्ट पोजिटिभ आयो भनेपछि आफ्नो पनि जानकारी गराएँ। हामी तीनैजनाका चालकसमेत गरी बालुवाटारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ९८ जना संक्रमित भएको विवरण थाहा भयो। अवस्था कहालीलाग्दो भयो। यति हुँदा पनि कोरोना संक्रमणले प्रधानमन्त्री केपी ओलीज्यूको निवासतर्फ पहिलो घेरा पार गर्न नसकेको खबरले केही ढुक्क भयो।

प्रधानमन्त्रीकै स्वास्थ्यका कारण, मूलतः उहाँको दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि संक्रमणको खतराबाट बढी भयभीत भए पनि सावधानी अपनाउँदै र जानुपर्ने ठाउँहरूमा पनि जान डराउँदै थियौं। पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र जनसंगठनहरूका कार्यालय पेरिसडाँडासम्म जान स्वयं नियन्त्रित थियौं। २०७६ चैत ११ यता बालुवाटार–सिंहदरबारको ओहोरदोहोर, भौतिक दूरी कायम गरी सीमित भेटघाट, मास्कको अनिवार्य प्रयोग, अति कम मात्रै पत्रकारसँग भेट र संवादमा सीमित दिनचर्या थियो। यी सबै हाम्रो निम्ति भन्दा प्रधानमन्त्रीलाई संक्रमणको कुनै खतरा नहोस् भनेर नै गरिएको थियो।

हामीले पीसीआर परीक्षणमा पहिले त मतलब नै गरेका थिएनौं, किनभने हामीले परीक्षणमा प्रयोग गर्ने उपकरण र स्वास्थ्य सामग्री अत्यावश्यक कन्ट्याक्ट् ट्रेसिङमा प्रयोग हुन सकोस् भन्ने सदाशयता नै देखायौं। खासमा यसो गर्नुको कारण स्वास्थ्य सामग्रीको अभाव र ट्रेसिङमा पर्नबाट जोगिएको हुनाले नै थियो। पीसीआर परीक्षण साउनको दोस्रो साता प्रधानमन्त्रीसँगको क्लोज कन्ट्याक्टमा रहनुपर्ने जिम्मेवारीकै कारण गराएका थियौं र नेगेटिभ रिपोर्ट आएपछि ढुक्कजस्तै भएका थियौं। यसपालि जति प्रयास गरे पनि जोगिन सकेनौं र संक्रमित भई छाड्यो।
संक्रमणको रिपोर्टले मनमा व्यक्तिगत प्रकारको कुनै डर त लागेन, तर ज्यानमा करेन्ट लागेकोजस्तो भयो। संक्रमितले स्वयं पोजिटिभ रिपोर्टको घोषणा गर्दा ट्रेसिङ गर्न र सम्पर्कमा रहेकाले सावधानी अपनाउन सजिलो हुन्छ। अन्यथा नाम सार्वजनिक नगरी संख्या मात्रै जानकारी गराउने कार्य हुँदै आएको छ। कतिपय शिक्षित र आधुनिक भनिएका समाजले समेत संक्रमितप्रति वा तिनका परिवार र घरप्रति देखाउने गरेको अन्यथा व्यवहारका बारेमा बेलाबखत सार्वजनिक चर्चा हुँदै आएको पाइन्छ, जो खेदजनक नै छ।

कोरोना पोजिटिभको रिपोर्ट आएपछि आआफ्नै निवासमा आइसोलेसनमा बस्ने सल्लाह भयो। परिवारबाट अलग रहें, बेड रूममै सीमित भएँ। दैनिकजसो बिहान सबेरैदेखि रातिसम्म निरन्तर तातोपानी घुट्काउँदै, त्यसमा बेसारपानी, मरिच, ज्वानो, लसुन, अदुवा, टिमुर र तेजपत्ताको प्रयोग र सेवन गरें। विद्यालय पढ्दाका आत्मीय साथी चन्द्रकान्त पोखरेलले बडो चिन्ता र सद्भावका साथ प्यूठान सिन्दुरे धुरीको शुद्ध बेसार पठाइदिएको, आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरबाट प्राडा रामआधार यादवले इम्युनिटी बढाउने र भाइरस नियन्त्रण गर्ने औषधिसमेत उपलब्ध गराएको, स्वर्गद्वारी आयुर्वेद फर्मा, इखालपु, पाटनका रामचन्द्र बुढाथोकीले विशेष निकटता, चासो र चिन्ताका साथ उपलब्ध गराएको औषधि र सल्लाहका साथ जनस्वास्थ्यविद् डा। रविन्द्र पाण्डेको टेलिफोन काउन्सिलिङ र श्रीमतीजीको निरन्तर नर्सिङ सेवाको समष्टिस्वरूप कोभिड १९ सँग लड्न र जितेर अघि बढ्न सकें।

बलिउडका महाअभिनेता अमिताभ बच्चनले डाबर चेवनप्रासको व्यापारिक विज्ञापन अत्यन्त प्रभावकारी रूपमा गर्नुभएजस्तै प्रधानमन्त्रीले बेसारपानीको प्रयोगका फाइदा र जडिबुटी तथा आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारिता एवं नेपालीको भान्सामा पाक्ने औषधीय तत्वसहितका खानपान र इम्युनिटी पावर उच्च रहेको जानकारी गराउने प्रयास निकै सही र जागरणमूलक रहेको अनुभूति भयो।

सुरुदेखि नै कोभिड १९ का लक्षणहरू ज्वरो आउने, जिउ, घाँटी र छाती दुख्ने, रुघाखोकी लाग्ने आदि केही नदेखिएको तर रिपोर्टचाहिँ पोजिटिभ आएकाले अनेक चिन्ता बढ्नु त स्वाभाविकै थियो। घरमा कडा अनुशासन र सावधानीको प्रबन्ध, अनुशासनको पालना, कोठाभित्र सीमित भई मास्क लगाएर बस्नेजस्ता बाध्यतामा बसियो। हामी आफैंले दुनियाँलाई संक्रमण भएको जानकारी गराएको र ठूलो संख्यामा एकसाथ पोजिटिभ रिपोर्ट देखिएको, अझ प्रधानमन्त्रीका सल्लाहकारहरू एकैचोटि संक्रमित बनेको कारणले सर्वत्र चासो बढ्यो। टेलिफोनमा प्रकट शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्नेहरू सबैका भावना आफैं ग्रहण गर्न त सम्भव भएन, सबैका ‘मिस्ड कल’ र सन्देशमा देखें। फेसबुक, ह्वाट्सएप, भाइवर र इमेलजस्ता सामाजिक सञ्जालमार्फत पाएका स्वास्थ्यलाभका अनगिन्ति शुभकामनाले हौसला दिइरह्यो।

स्वास्थ्य सचेतना एवं जागृति र आयुर्वेदको महत्तालाई नजिकबाट बुझ्न यो समय अत्यन्त उपलब्धिमूलक र स्वर्णिम सावित भयो। प्रधानमन्त्रीले वितेका सात महिनामा ‘हाम्रो आयुर्वेद उपचार पद्धतिको महिमा र महत्व’को बारेमा निकै धेरै व्याख्यान गर्दै र दोहोर्‍याउँदै आउनुभएको छ। उहाँका अधिकांश सम्बोधन पटकपटक सुनेको र आयुर्वेद क्षेत्रका विज्ञहरूसँग आयोजना गर्नुभएको विशेष छलफलमा पनि सहभागी भएरसमेत सुन्न पाएको थिएँ। कोरोनाविरुद्ध लड्दा ती कुराको सहीपना जीवनको प्रयोगशालामा व्यावहारिक रूपमा परीक्षण गर्न र त्यसको परिणाम, अनि प्रभाव भोग्न र सकारात्मक निष्कर्ष हासिल गर्न सम्भव भएको हो। अझ टेलिफोन गर्ने अधिकांशजस्तो ९९५ प्रतिशतभन्दा बढी० शुभचिन्तकले गुर्जो भएनभएको सोध्नु, बेसारपानी खान सल्लाह दिनु, विभिन्न जडिबुटीको प्रयोगमा ध्यान दिन भन्नु र यसै गरेर आफूहरूले कोरोना जितेको अनुभवसमेत सुनाउनु झन् रोचक वास्तविकता भएको छ।

बलिउडका महाअभिनेता अमिताभ बच्चनले डाबर चेवनप्रासको व्यापारिक विज्ञापन अत्यन्त प्रभावकारी रूपमा गर्नुभएजस्तै प्रधानमन्त्रीले बेसारपानीको प्रयोगका फाइदा र जडिबुटी तथा आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारिता एवं नेपालीको भान्सामा पाक्ने औषधीय तत्वसहितका खानपान र इम्युनिटी पावर उच्च रहेको जानकारी गराउने प्रयास निकै सही र जागरणमूलक रहेको अनुभूति भयो। तैपनि हाम्रो घरेलु उपचार पद्धतिको महत्तालाई दुत्कार्न इनफ इज इनफका भाइहरू, बेसारविरोधी अभियन्ताहरू र प्रधानमन्त्रीलाई पूर्वाग्रहवश उडाएर सन्तोष मान्नेहरू कसबाट परिचालित भइरहेका होलान् भन्ने पश्न भने मेरो मनमा अझ जब्बर बनेको छ।

बितेको करिब एक वर्ष अत्यधिक स्ट्रेसमा काम गर्नु परेकाले होला, मैले झन्डै आँखाको दृष्टि नै गुमाउनु परेको थियो, समयमै समस्या थाहा पाएर धन्न उपचार गराएँ। महिना दिनसम्म भित्रपट्टि एउटा ग्लासमा टेप टाँसेर कालो चश्मा लगाउँदै हिँड्न बाध्य हुनुपर्‍यो। खासमा सुगरले आँखाको नर्भमा हानेर डुप्लिपियाको समस्या भइसकेको रहेछ। कान पनि कम सुन्ने समस्या भोगें, त्यसको पनि उपचार गराएँ। छालाको एलर्जी र नङको फंगसजस्ता समस्याहरूको पनि उपचार गरेर निको भएँ। कोरोना संक्रमण पनि थपियो, यसविरुद्ध लडें र जितें।

लकडाउनकै अवधिमा जेठ २८ गते आकस्मिक रूपमा माइल्ड अट्याकका कारण पित्तथैलीको पत्थरीको अपरेसन गराउनु पर्‍यो। त्यसले गर्दा आफैं पनि संक्रमणबाट जोगिने अधिक प्रयत्नमा रहनु स्वभाविकै थियो। गत वर्ष पुस ७ गतेपछि देखापरेको सुगरको समस्यामा डा। अंशुमाली जोशीको प्रत्यक्ष सम्बन्ध र परामर्शमा नियमित औषधि सेवन गरिरहेको छु। परिवारमै स्वास्थ्यकर्मी रहेकाले श्रीमती, भाइ र बुहारीको अत्यधिक ध्यान संक्रमणबाट जोगाउन केन्द्रित रहेकाले पनि परिस्थिति सहज भयो। अस्पतालमा ड्युटीमा जाँदा वा फर्कंदा उनीहरूको जोड चाहिनेभन्दा बढी सावधानी अपनाउन केन्द्रित हुन्थ्यो। यसका पछाडि मेरो स्वास्थ्य समस्या र प्रधानमन्त्रीसँगको सम्बन्धको संवेदनशीलता निहीत थियो।

म आफ्नो पृष्ठभूमि, वर्ग, क्षेत्र, समुदाय, समग्र पार्टी, साथीहरू, श्रमजीवी जनता र मातृभूमिप्रति इमान्दार भएर काम गर्छु। अहिले प्रधानमन्त्रीको सचिवालयमा छु। यस जिम्मेवारीमा रहँदा प्रधानमन्त्रीको काममा सम्पूर्ण सामथ्र्य र बरकतका साथ सहयोग गर्न नै अहोरात्र लाग्नुपर्छ भन्ने कर्तव्य राम्रोसँग बुझेको छु। यो काममा म नयाँ छैन। त्यसैले, यसमा मेराविरुद्ध कुनै ताकत, गिरोह र कोही आपराधिक समूह परिचालित भएर केही तलमाथि गर्न सम्भव छैन। यस जिम्मेवारीमा रहँदा नबिराउनु नडराउनु भन्ने मान्यता बोकेर नै कार्यसम्पादन गर्ने हो। यसो गर्दा अनाहकमा कसैका प्रहार, घेराबन्दी, गालीगलोज सहनुपर्छ भन्ने लाग्दैन। त्यसो गर्न किमार्थ स्वीकार्य छैन। सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने प्रधानमन्त्रीको जीवनपद्धतिलाई सकेसम्म पछ्याउने कोसिस गरिरहेको छु।

यसबीच केही विकृत मनोदशाका रोगीहरू फेक आइडीमार्फत सक्रिय भए। त्यस्ता मान्छेको रूपका अपराधीहरूले सामाजिक सञ्जालको सकेसम्म दुरुपयोग गर्दै विशेषगरी मैले पित्तथैलीको अपरेशन गराउँदा पहिले पनि मलाई कोरोना लाग्यो भनेर दुष्प्रचार गर्न निकै बल गरेका थिए। अहिले त झन् कोरोनाले ठीक मान्छे छानेको, अब स्वस्थ भएर नफर्कियोस्, श्रद्धाञ्जली, रिप आदि लेख्ने, एनिमेसन गरेर अपमानजनक प्रचार गर्ने, मानौं तिनको स्वर्गको सुखमा मुख्य बाधक नै म हुँजस्तो गरी समाजमा गलत प्रचार र छवि निर्माण गर्न लाग्ने, मेरा स्पष्ट भनाइलाई बंग्याएर गलत अर्थ लगाई समाजमा भ्रम सिर्जना गर्ने, देश विदेशबाट टेलिफोन गरी निकृष्ट गालीगलोज गर्ने काममा नियोजित रूपमा लागेका परिचालित तत्वहरूको अपराधिक कृत्यलाई पनि मैले नजिकबाट देख्न पाएँ। तिनको अभिलेख राख्ने र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनु पर्ने आवश्यकता महसुस गरेको छु। पार्टीकै कोही नेता, गुट र पूर्ववर्ती समूहका विरासतको समेत छहारीमा सुरक्षित बसेर यस्तो हर्कत गरिरहेकाहरूको संलग्नता महसुस गरेको छु।

स्पष्ट गर्दछु कि झिंगाको सरापले गाई त मर्दैन १ कसैले मेरो मृत्युको कामना गरेर वा मनमनै होस् अथवा सोसल मिडियामा मृत्युपूजा लगाएर त मैले असमयमै जीवन गुमाउनु पनि पर्दैन। बीचबीच जस्तोमा उभिन, सबैको प्रिय बन्न र नाइस टु अल हुन करिब आधा शताब्दी लामो जीवनयात्रामा कहिल्यै जानिनँ। बाँकी जीवनमा पनि कहिल्यै त्यसो गर्न लाग्दिनँ। मेरो स्वभाव, शैली र निष्ठा नितान्त मेरो निजत्व हो। यसमा कमी त्रुटि रहेका भए हटाउन त प्रयास गर्छु, तर अरूको सजिलो र खुसीका लागि म बदलिने कल्पना कसैले नगरे पनि हुन्छ। यस क्रममा अग्रजहरूको माया र आशिर्वाद चाहिँ निरन्तर प्राप्त छ भन्ने ठानेको छु। देशभरिका शुभेच्छुकले निरन्तर साथ, सहयोग र समर्थन गरिरहेको पनि बुझेको छु।

खासमा मेरो कसैसँग व्यक्तिगत दुश्मनी छैन। कसैसँग लेनदेनमा विवाद गर्ने बानी छैन। बरु आफू तल परेर पनि त्यस्ता झमेलामा पर्न चाहन्नँ। आफ्नो कुराचाहिँ सिधा, प्रष्ट र सोझै भन्ने गर्छु। सामुन्नेमा पर्दा चिप्लो कुरा गर्ने, पछाडिबाट पिठ्युँमा छुरा रोप्नेहरूप्रति मलाई असीमित घृणा छ। मिल्दा र झगडा गर्दा दुवै स्थितिमा शतप्रतिशतमा नै व्यवहार गर्छु। त्यसक्रममा आफ्नो अवस्थाको चिन्ता कहिल्यै गर्ने गरेको छैन। आफ्नो निहीत स्वार्थका लागि त म कसैसँग विवाद र झगडा गर्ने गरेको छैन।

नियत बांगिएका, दोहोरो चरित्र भएका र आपराधिक प्रवृत्तिका तत्वहरूको सत्तोसरापलाई सम्पूर्ण रूपमा झूठमा सावित गर्दै खारेज गर्न पूर्ण सामथ्र्यवान छु। विश्वव्यापी महामारीका रूपमा आफूसम्म पनि आइपुगेको कोरोना संक्रमणलाई सात दिनमै पराजित गर्न सकेको छु। जबकि प्यूठान र देशभरिबाट चिन्ताभावमा टेलिफोन गरेर यो महामारीबाट जोगिन त सक्नुहोला दाजु भन्ने थुप्रै थिए। तिनको चिन्तालाई मैले छोटो प्रयासमा हटाउन सकेको छु। रिपोर्ट नेगेटिभ आएपछि एउटा युद्ध जितेजस्तो अनुभूति गरेको छु।

यस क्रममा सञ्चारमाध्यम, सञ्चारकर्मी, साथीभाइ, इष्टमित्र, नातेदार, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, १ नं प्रदेशका प्रमुख सोमनाथ प्यासी अधिकारी, मन्त्रीहरू योगेश भट्टराई, पद्मा अर्याल, प्रदीप ज्ञवाली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टीका नेताहरू विष्णुपुकार श्रेष्ठ, केशव बडाल, मणिचन्द्र थापा, जनार्दन शर्मा, विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपालले टेलिफोन गरेर चासो देखाउनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। कमरेड कृष्णगोपाल श्रेष्ठले त निकै बढी सक्रियता र ममता देखाउनु भयो, जो विशेष उल्लेखनीय रह्यो।

सर्वोपरि रूपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चासो र अभिभावकत्व यसक्रममा अविस्मरणीय महसुस भयो। यसमा मेरो अनुभव सबैलाई जस्ताको तस्तै काम त लाग्दैन। किनभने लक्षणरहितको संक्रमित थिएँ। लक्षणसहितका संक्रमितले मैलेजस्तो अभ्यास गर्न खोज्दा लापरबाही सावित भएर ज्यान नै जान पनि सक्छ। यस्तो अवस्थामा विज्ञ र स्वास्थ्यकर्मीको सल्लाहसुझावअनुसार उपचार र जडिबुटीको प्रयोग गरेर संक्रमणबाट पार पाउन सकिन्छ। -अन्नपूर्ण पोष्टबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया