Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रोयल च्यालेन्जर्स बेंगलोर विरुद्वको खेलमा कोलकाता नाइट राइडर्सको लज्जास्पद हार

   
149   पटक पढिएको

एजेन्सी। रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ ।

जारी सिजनमा पाँचौ जित निकालेसँगै बेंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाउन सक्यो । कोलकाता कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

चौथो ओभरको अन्तिम बलमा नवदीप सैनीले डेब्यू खेल खेलेका ओपनर टम ब्यान्टनलाई ८ रनमा बोल्ड आउट गरे । आठौैं ओभरको अन्तिम बलमा वासिन्टन सुन्दरले नितेश राणालाई ९ रनमा बोल्ड आउट गर्दै कोलकातामाथि दबाब बढाए । दशौं ओभरको तेस्रो बलमा सुभमन गिल ३४ रनमा रन आउट हुन पुगे । गिलले २५ रनमा ३ चौका र १ छक्का प्रहार गरे ।

कोलकाताले निरन्तर विकेट गुमाई रह्यो । ११ औं ओभरको चौथो बलमा कप्तान दिनेश कार्तिकलाई युजभेन्द्र चहलले १ रनमा बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा हाबी बनाए । सुन्दरको १२ औं ओभरको पहिलो बलमा ओईन मोर्गन ८ रनमा इसुरु उडानाबाट क्याच आउट भएपछि कोलकाता ६४– ५ को कमजोर अवस्थामा पुगेको थियो ।

कोलकाताको आशा र भरोसा सबै आन्द्रे रसेलमाथि रहेको थियो । तर उडानाको १४ औं ओभरको पाँचौ बल ठूलो सट खेल्ने धुनमा मोहम्मद शिराजबाट १६ रनमा क्याच आउट भएपछि जितको सम्भावना सकिएको थियो । रसेलले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

तल्लोक्रमका ब्याट्सम्यानले पनि ठूलो इनिङ खेल्न सकेनन् । प्याट कमिन्स १, राहुल त्रिपाठी १६ र कमलेश नगरकोटी ४ रनमा आउट भए ।

बेंगलोरका वासिन्टन सुन्दरले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल, इसुरु उडाना, मोहम्मद शिराज र नवदीप सैनी एक एक विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । बेंगलोरलाई बलियो लक्ष्यमा पुर्याउन एवी डिभिलियर्स ३३ बलमा ५ चौका र ६ छक्का सहित ७३ रनमा अविजित रहे । कप्तान विराट कोहली २८ बलमा १ चौका सहित ३३ रनमा अविजित रहे ।

कोहली र डी भिलियर्सले तेस्रो विकेटका लागि ४७ बलमा १ सय रनको अविजित उत्कृष्ट साझेदारी गरेपछि बेंगलोरले बलियो योगफल तयार पारेको हो । बेंगलोरले अन्तिम पाँच ओभरमा कुनै विकेट नगुमाई ८३ रन जोड्न सफल भयो ।

बेंगलोरलाई पहिलो विकेटका लागि ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ७.४ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । आन्द्रे रसेलले पाडिक्कललाई ३२ रनमा बोल्ड आउट गरे । पाडिक्कलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरको दोस्रो बलमा युवा तीव्र गतिका बलर प्रसिद्ध कृष्णले फिन्चलाई ४७ रनमा बोल्ड आउट गरे । फिन्चले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आन्द्रे रसेलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । बेंगलोरले अव बिहिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । कोलकाताले शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

अंक तालिका

मुम्बई, दिल्ली र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । समान ७ खेलमा नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बेंगलोर तेस्रो स्थानमा रहेको छ । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा पुगेको छ ।

सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।हाम्रो खेलकुद बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया