Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बैज्ञानिक संस्कार नै तिब्र देश बिकासको कुँजी: भीम उपाध्याय

   
148   पटक पढिएको

स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू केमिष्ट्री पढेर बैज्ञानिक बन्न बेलायत गएका थिए। बेलायतमा उनका दर्जनौँ प्रतिष्ठित बैज्ञानिक साथीहरू थिए। आईनस्टाईन उनका जिग्री दोस्त थिए। बिज्ञानका साथै उनले ब्यारिष्ट्री (कानुन, वकालत) पनि पढेर भारत फर्किए। नेहरुका पिता मोतिलाल भारतका महंगा धनाढ्य सुप्रसिद्ध वकिल थिए। उनी छोरा जवाहरले पनि वकालत गरोस् भन्ने चाहन्थे।

जवाहरलाल भने महात्मा गान्धीको प्रभावमा आएर राजनीतिमा लागे। बेलायतको बैज्ञानिक शिक्षाले गर्दा उनी स्वभावत: बैज्ञानिक कल्चरमा संस्कारित भएका थिए। उनका मित्रहरू धेरै बैज्ञानिक, ईन्जिनियर, अर्थशास्त्री एवं विज्ञहरू थिए। आफू साहित्यकार पनि भएकाले साहित्यका दर्जनौँ मूर्धन्य ब्यक्तिहरू पनि उनका मित्र थिए। भारत स्वतन्त्र हुनुअघि देखि उनमा समृद्ध मात्रै हैन औदॉयोगिक र सामरिक शक्तिसम्पन्न भारत बनाउने सुस्पष्ट भीजन थियो। भारत स्वतन्त्र हुनासाथ उनी पहिलो प्रधानमन्त्री बने। गणतान्त्रिक संविधान मस्यौदा आयोगको अध्यक्ष बनेर डा भीमराव अंबेडकरलाई मस्यौदाकार बनाए। भारतमा अंबेडकर संविधानका पिता मानिन्छ।

नेहरू प्रधानमन्त्री बनेदेखि भीजन कार्यानवयनमा लागे । उनले उद्योग र कारखानाहरू भारतका मन्दिर हुन् भन्दै भटाभट औद्योगिकरण गर्दै गए। यसमा गान्धीसंग उनको विमति पनि रहने गर्थ्यो। ईन्जिनियरिंग र विज्ञानका विश्वविद्यालय र रिसर्च संस्थाहरू खोल्दै गए। आईआईटीहरू खोले। ईसरो, डिआरडिओ, सिएसआईआर, भाभा एटोमिक सेन्टर, ईईएस, खोलेर बैज्ञानिक र प्राविधिज्ञहरुलाई आकर्षित गर्दै गए। नेपालको कोशी परियोजना उनका नेतृत्वमा सीधै प्रम कार्यालयको निगरानीमा सम्पन्न गरे। एम विश्वेश्वरैया जस्ता महान ईन्जिनियर, भाभा, सतिश धवन र विक्रम साराभाईहरू जस्ता बैज्ञानिक, मेहलोबिस जस्ता तथ्यांकबिद, टैगोर जस्ता साहित्यकार, आईन्स्टाईन, रदरफोर्ड, बट्रेन्ड रसेल जस्ता विश्वकै महान बैज्ञानिक उनका निकटका सहयोगी मित्रहरू थिए। यस्ता असल संगतिले गर्दा पनि नेहरू बैज्ञानिक संस्कारका विश्व नेता हुन पुगे। गान्धीको अभिभावकत्वले जनप्रिय नेता पनि बन्न सके। तर आधारभूत रूपमा उनको हृदय बैज्ञानिक थियो। उनी भारतीय राष्ट्रिय बिज्ञान कंग्रेस (Indian Science Congress) संस्था गठन गरेर बैज्ञानिकहरूको फोरम स्थापना गरी पहिलो सभापति पनि बनेका थिए।

उनले गर्दा भारतमा राजनीतिज्ञहरूमा बैज्ञानिक दृष्टिले महत्व पाउन थाल्यो। अनेक बैज्ञानिक एवं प्राविधिक संस्थाहरू खुल्दै क्रान्ति हुन सुरू भयो। त्यो परम्परा लालबहादुर शास्त्री , ईन्दिरा गान्धी, राजीव गान्धी, अटल विहारी बाजपेयी, मनमोहन सिंह हुदै अहिले नरेन्द्र मोदीसम्म पनि कायम रहेको छ।
कृषि बैज्ञानिक डा स्वामीनाथनले हरित क्रान्ति गरे, मेकानिकल ईन्जिनियर डा भर्गिस कुरियनले दुग्ध स्वेत क्रान्ति गरे, एरोनटिकल ईन्जिनियर डा कलामले मिसाईल प्रविधि ब्लु क्रान्ति गरे, डा श्रीधरनले रेलमा क्रान्ति ल्याए, ईलेक्ट्रिकल ईन्जिनियर डा साम पित्रोदाले टेलिकम क्रान्ति गरे। स्पेश क्रान्तिको अगुवाई डा विक्रम साराभाईले गरे, ईन्टेलेक्चुअल प्रोपर्टी राईटमा ईन्जिनियर डा मासेलकरले क्रान्ति ल्याए। ग्रामीण पूर्वाधार आर्थिक बिकासमा ईन्जिनियर डा पिभी ईन्द्रसेनले नविन मोडेल बनाएर क्रान्ति ल्याए। ग्रामीण उर्जामा ईलेक्टिकल प्रोफेसर डा अमूल्यले चमत्कार ल्याए। यसरी हरेक क्षेत्रमा बिज्ञहरूले अगुवाई गर्दै जान थालेकाले भारत अहिले शक्तिसम्पन्न हुन पुगेको हो।

एकपटक अमेरिकी पत्रकारले नेहरूसंग सोधेका थिए- 'तपाई त बैज्ञानिक हुनुपर्ने, किन राजनीतिमा लाग्नु भयो?'

नेहरूले गम्दै जवाफ दिए-

'हो मेरो मन बिज्ञानलाई नै खोजिरहन्छ, बिज्ञानमा बढी रमाउछु। म बिज्ञानमा लागेको भए त्यसमा पनि अवश्य राम्रै योगदान दिन सक्थेँ होला भन्ने लाग्छ तर म एक्लैले गरेर के नै खास उपलब्धी हुन्थ्यो र! म त यहॉ हातगोडामा जंजिर बॉधिएका हजारौँ बैज्ञानिक र बैज्ञानिक बन्न चाहने जेहेन्दार युवाहरूलाई तिनका जंजिर चुडालेर मुलुकलाई शक्तिशाली बनाउनका लागि राजनीतिमा आएको हुँ।

आज भारत शक्तिशाली औद्योगिक मुलुक हो। अणु र स्पेश बिज्ञानमा अग्रणी छ। आईटीमा कब्जा छ।
नेताहरू बैज्ञानिक नहुदासम्म वा बैज्ञानिक ढंगले संस्कारित नहुदासम्म यहॉ कुछ नहीँ होने का!

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया