Arghakhanchi Bulletin : The Fastest News Publisher

एशिया महादेशकै पहिलो कम्युनिष्ट संग्रहालय बुटवलमा सञ्चालन

   
976   पटक पढिएको

बुटवल। विश्व कम्युनिष्ट आन्दोलनलाई टेवा पुर्याउने गरी रुपन्देहीको बुटवलमा कम्युनिष्ट संग्रहालय स्थापना गरिएको छ ।

विश्वभरका देशमा कम्युनिष्टहरुको आफ्नै अस्तित्व भएपनि कम्युनिष्ट संग्रहालय कतै नभएको नेताहरुको भनाइ छ । बुटवलको चांदवारीमा स्थापना गरिएको कम्युनिष्ट संग्रालय एशीया महादेशकै पहिलो हो ।

कम्युनिष्ट संग्रहालयबाट विश्व कम्युनिष्ट आन्दोलनबारे अध्ययन गर्न सकिने र अध्ययन तथा अनुसन्धान गर्न सकिने नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह बताउँछन् । नेपाल कम्युनिष्ट पार्टी मसालको पहल र कम्युनिष्ट नेता मोहनविक्रम सिंहको योजनामा संग्रालय स्थापना गरिएको हो ।

२०६९ असोजमा दुर्गानाथ खरेलको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरी कम्युनिष्ट संग्रालय, नेपालको स्थापना भएको थियो । २०७१ वैशाख ८ गते जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा दर्ता भई २०७१ भदौ २९ गते यसको पहिलो साधारण सभा भएको कम्युनिष्ट संग्रहालय नेपालको दोस्रो साधारण सभा केही दिन अगाडी बुटवलमा सम्पन्न भएको छ ।

दोस्रो साधारण सभाले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संरक्षण रहने गरी चेतनाथ आचार्य अध्यक्ष रहेको १३ पूर्ण र तीन सल्लाहकार समिति गठन गरेको छ । जुन संग्रहालयमा अहिले कम्युनिष्टसंग सम्बन्धीत पुस्तक, लेख रचना, विभिन्न समयका दस्तावेजहरु संकलन गरी राख्ने काम भैरहेको छ ।

नेपालको कम्युनिस्ट आन्दोलन र अन्य देशमा चलेका कम्युनिष्ट आन्दोलनसित सम्बन्धित माक्र्सवादी साहित्य, दस्तावेज, पत्रपत्रिका, पर्चा, पोस्टर, स्मारक, फोटो, इलेक्ट्रोनिक सामग्रीहरू संकलन संरक्षण गर्नुका साथै स्वदेशी तथा विदेशी पाठक एवं शोधकर्ताहरूलाई अवलोकन, अध्ययन तथा अनुसन्धानको अवसर प्रदान गर्ने संग्रहालयको उद्देश्य हो ।

विश्वका विभिन्न देशहरुमा माक्र्स, एङ्ग्लेस, लेनीन, स्टालिन, माओ लगायतका विश्व प्रख्यात नेताहरुको नामबाट संग्रालय भएपनि बुटवलमा स्थापना गरिएको कम्युनिष्ट संग्रालय एशीया महादेशमा पहिलो भएको कम्युनिष्ट नेताहरुले बताएका छन् ।

संग्रालयमा विश्व कम्युनिष्ट आन्दोलनसंग जोडिएका पुस्तकहरु, कम्युनिष्ट घोषणा पत्र, कम्युनिष्ट आन्दोलन र कम्युनिष्टबारे बनाईएका डकुमेन्ट्री, विभिन्न कम्युनिष्ट पार्टीका घोषणा पत्र राखिएको छ । कम्युनिष्ट पार्टीको विषयमा लेखिएका पुस्तकहरु, लेखलाई संग्रह गरिने कम्युनिष्ट संग्रहालयका सचिव रोजेश विश्वकर्माले बताए । संग्रालयलाई ई–लाईवे्ररीको रुपमा विकास गरिने लक्ष्य रहेको छ ।

कम्युनिष्ट संग्रहालयको सदस्यका लागि विभिन्न कम्युनिष्ट पार्टीमा आस्थावान राख्ने जो कोहीलाई पनि सदस्य बनाउन सकिने छ । विभिन्न कम्युनिष्ट घटकमा आवद्व कम्युनिष्ट विचारकहरु उक्त कम्युनिष्ट संग्रहालयको अवलोकन गर्न थालेका छन् । केही समय अघि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले पनि उक्त कम्युनिष्ट संग्रालय अवलोकन गरेका थिए ।

कम्युनिष्ट संग्रहालय नेपालको दोस्रो साधारण सभाबाट उपाध्यक्ष दुर्गानाथ खरेल, महासचिव खेमनाथ कोइराला, कोषाध्यक्ष ओम बहादुर केसी, सचिव तुलप्रसाद विश्वकर्मा र सदस्यहरूमा भैरवराज रेग्मी, कृष्णराज पौडेल, दुर्गा पौडेल, बद्रे आलम, गणेश गौतम, लक्ष्मणदेव पाण्डे, डिआर पोखरेललगायत रहेका छन् । त्यस्तै रश्मीराज नेपाली, हरि आचार्य, छविरमण शर्मा रहेको सल्लाहाकार समिति पनि गठन गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया