Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रवासी नेपालीलाई मताधिकारको ग्यारेन्टी गर्न मसालको जोड

   
267   पटक पढिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले विदेशमा रहेका लाखौं नेपालीलाई उनीहरु कार्यरत देशबाटै निर्वाचनमा मत दिने ब्यवस्था मिलाउन पुनः माग गरेको छ ।

नेकपा (मसाल) को हालै सम्पन्न राष्ट्रिय परिषद बैठकले प्रवासी नेपालीको मताधिकार सुरक्षा गर्नुपर्ने मागलाई दोहोर्याएको छ । नेकपा (मसाल) को प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन आयोगले विदेशस्थित प्रवासी नेपालीहरूलाई मतदानको अधिकार दिने मत प्रकट गरेको छ भने सर्वोच्च अदालतले पनि त्यही प्रकारको निर्देशन सरकारलाई दिएको छ ।

तर सरकारले अहिलेसम्म निर्वाचन आयोगको मत वा सर्वोच्च अदालतको निर्देशनलाई कार्यान्वयन गर्नेतर्फ कुनै पहल गरेको छैन । हाम्रो यो दृढ मत छ कि भारत सहित विदेशमा बस्ने सबै प्रवासी नेपालीहरूलाई आफू भएको देशमा नै मताधिकार र चुनावमा भाग लिने समेत अधिकार हुनुपर्दछ ।

विदेशस्थित प्रवासी नेपालीहरूलाई मताधिकार समेतको पक्षमा दशकौँदेखि आवाज उठाउँदै आएपनि सरकारले नसुनेको मसालले जनाएको छ । महामन्त्री सिंहद्वारा प्रस्तुत प्रतिवेदनमा प्रवासी नेपालीको मागप्रति अवहेलना नगर्न सरकारसँग आग्रह गरिएको छ । ‘त्यस प्रकारको आवाज उठाउने हाम्रो पार्टी देशको एक मात्र राजनीतिक पार्टी हो ।

अन्य पक्षहरूले त्यसबारे कुनै आवाज नउठाएर वास्तवमा विदेशस्थित लाखौँ प्रवासी नेपालीहरूको न्यायपूर्ण मागको अपहेलना गर्ने गरेका छन् । हामीले अन्य सबै पक्ष र सरकारसित पनि उक्त विषयमा सकारात्मक दृष्टिकोण अपनाउनका लागि अनुरोध गर्दछौँ’ प्रतिवेदनमा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया