Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चुनौतिका पहाड : चिन्ता गर्ने कि चिन्तन ? नेता डिलाराम आचार्य

   
265   पटक पढिएको

काठमाण्डौ। हाम्रो समाजमा एक प्रकारको चिडचिडावट व्यापक रूपमा देखा पर्न थालेको छ। कोरोना भाइरसको महामारी र लामो समयको बन्दाबन्दीका कारणले असन्तोष र चिडचिडापनलाई बढाउने काम त गरेको छ नै। साथसाथै अरु धेरै कारणहरुले पनि यस्तो अवस्था सिर्जना हुनुमा काम गरिरहेको छ। आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा देखापर्ने यसप्रकारको चिडचिडाहट निश्चित रुपले समाज र देशको निम्ति चिन्ताको विषय हो।

समाजमा नकारात्मक भावनाहरु फैलिँदै जाँदा समाजमा असहिष्णुता बढेर जाने हो कि भन्ने चिन्ता बढेर गएको छ। राजनीतिक क्षेत्रमा सबैतिर विवादहरू छन्, नेकपा विवादको चुचुरोमा छ। नेपाली कांग्रेस महाधिवेशनको तयारीमा छ र विभिन्न किसिमका कचिङ्गल त्यहाँ पनि विद्यमान छन्। मधेशवादी पार्टीहरु एकजुट त भए। तर उनीहरूको केन्द्रीय कमिटी र तल्लो पंक्तिका मानिसहरु जिम्मेवारीविहीन भएका छन् र त्यहाँ पनि चिडचिडावट बढ्दै गइरहेको छ। साना पार्टीहरूहरु पनि असन्तोष र कचिङ्गलबाट अछुतो छैनन्।

उद्यमी व्यवसायीहरुको पनि कोरोनाको कारणले सिर्जित बन्दाबन्दीले उद्योग व्यापार व्यवसायमा आएको मन्दीका कारणले र अरु पनि कैयौँ कारण, मजदुरहरुको रोजगारीबिहीनता, अभाव, गरिबी र महँगी, किसानहरुमा समयमा मलबिउ उपलब्ध नहुनु, सिँचाइ कुलो बाढीपहिरोले अरु धेरै कारण, महिलाहरुमा समाजका सबै समस्याको साथै लैङ्गिक विभेद र हिंसाको कारण, युवा विद्यार्थीहरूमा पढाइको अनिश्चितता, बेरोजगारी, प्रेममा धोका, घरपरिवार र समाजसँगको अघोषित रुपमा चल्ने पुरानो र नयाँ चेतनाबीचको अन्तर्विरोधको कारण र अन्य विविध समस्याले सर्वत्र चिडचिडाहट असन्तोष व्याप्त छ। चिडचिडापन संक्रामक रोग जस्तै समाजमा फैलिरहेको छ।

देशमा राजनीतिक रुपले आमूल परिवर्तन भइसकेपछि तदनुरुपको आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रबाट जनताको दिनानुदिनको दैनिक व्यवहारमा परिवर्तनको अनुभूति हुनुपर्दथ्यो। त्यसो हुन नसक्नाको कारणले पनि आज सर्वत्र देखापरेका असन्तुष्टिको पृष्ठभागमा मलजलको काम गरिरहेको छ। पुरानो सामन्ती राजतन्त्रको अन्त्यपछि नयाँ व्यवस्थाको रुपमा स्थापित गणतन्त्रले जनताको परिवर्तनको मनोकांक्षालाई सम्वोधन गरोस् भन्ने जनचाहना र हाम्रो पुरानो ढाँचाको काम गराइले समाजमा यस प्रकारका अन्तर्विरोधहरुलाई वा असन्तुष्टहरूलाई बढाउने काम गरिरहेको छ।

राजनीतिक परिवर्तनले मात्रै जनता सन्तोष हुन सक्दैनन्। आर्थिक सामाजिक र सांस्कृतिक रूपमा पनि परिवर्तनको आभास होस् भन्ने चाहन्छन्, जनताले हामीलाई राजनीतिक परिवर्तनको निम्ति जुन अभूतपूर्व रूपमा साथ दिएका थिए, त्यो खाली राजनीतिक परिवर्तनको निम्ति मात्र थिएन, राजनीतिक परिवर्तनको साथसाथै आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि आमूल परिवर्तनका निम्ति थियो भन्ने कुरालाई राजनीतिक क्षेत्रले गम्भीरतापूर्वक ग्रहण गर्न नसक्दा वा ग्रहण गर्ने कार्यमा चुक्दा यस प्रकारको असन्तुष्टिहरु पैदा हुने गर्दछन्।

समाजको निरन्तर रूपमा अगाडि बढ्ने प्रवृत्तिहरु हुन्छन्, अपेक्षित रुपमा अगाडि बढ्न नसक्दा समाजमा चिन्ता, असन्तुष्टि विरोधका स्वरहरु हाबी हुन पुग्दछन्। अगाडि बढ्ने चेष्टाका साथ लामो समय गोलो गोलो घुमिरहनुपर्‍यो भने कहिलेकाहीँ दुर्भाग्यवश पछाडि धकेलिने दुर्घटनाको खतरा पनि हुन्छ, त्यसबाट बच्न सचेत प्रयत्नको आवश्यकता हुन्छ।

आक्रोश असन्तुष्टि र चिडचिडापन विभिन्न रुपमा देखा पर्दछन्। यही र यस्तै कारणहरुले होला, हाम्रो देशमा पछिल्लो समयमा आत्महत्याको संख्या व्यापक रुपले बढिरहेको छ। देहत्यागका विभिन्न तरिकाहरु अपनाएर मर्नेहरूको संख्या पछिल्लो समयमा धेरै नै बढेर गएको छ। हुँदाहुँदा यस्तोसम्म घटनाहरु घट्न थाले कि मानिसहरु सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमा आएर आफ्ना असन्तुष्टिहरु पोख्दै आत्महत्या गर्नेसम्मका घटनाहरू देखिन थालेका छन्। समाजमा आशावादिता घट्दै जानु र निराशाहरु चुलिँदै जानुको कारणले यस्ता घटनाहरु बढने गर्दछन्। धेरै मान्छेको हातमा सामाजिक सञ्चारमाध्यमको उपलब्धता सुलभ रुपमा भइरहेको छ। यसको सदुपयोग गरेर समाजलाई अग्रगति दिने आशावादिता बढाउने सकारात्मक सोच र चिन्तनहरुलाई आम मानिससम्म पुर्‍याउने माध्यमको रुपमा प्रयोग गर्ने कार्य धेरै नै पछाडि परिरहेको छ। उल्टै नकारात्मक चिन्तन प्रणालीहरु व्यापक रुपमा हावी हुँदै गइरहेका छन्, यो धेरै नै चिन्ताको विषय हो।

सामाजिक सञ्जालहरुमा व्यापक रुपले सकारात्मक बहसहरु किन हुन सक्दैन या भइरहेका सकारात्मक बहसहरुप्रति सामाजिक सञ्जालका प्रयोगकर्ताहरु केन्द्रित हुन किन चाहँदैनन्। नकारात्मक चिन्तनप्रतिको रुझान यति बेसी किन छ भन्ने प्रश्नको यथार्थ फरक विश्लेषणको निम्ति धेरै नै ठूलो अध्ययन अनुसन्धान र विश्लेषणको आवश्यकता छ। तर यहाँ सरसर्ती उपरी प्रकारले मात्रै चर्चा गर्न खोजिएको छ, यो चर्चाले गम्भीर अध्ययनको आवश्यकतालाई थोरै मात्रमा भए पनि ध्यानाकर्षण गर्न सक्यो भने महत्वपूर्ण उपलब्धि भएको ठानिनेछ।

पछिल्लो समयमा सामाजिक सञ्जालहरुमा प्रयोग भइरहेका जिम्मेवार नागरिकहरूको भाषालाई हेर्दा हामीले समाजलाई के सिकाउन खोजेका छौँ ? भन्ने गम्भीर प्रश्नहरु उब्जिन्छन्।

जिम्मेवार व्यक्ति व्यक्तित्वहरुले राजनीति र सामाजिक क्षेत्रका उच्च ओहोदामा आशिन व्यक्तिहरूले प्रयोग गर्ने तल्लो दर्जाको भाषाले हाम्रो समाजलाई के सन्देश दिन्छ, हाम्रो युवा पुस्तालाई के सिकाउँछ भन्ने कुराको हेक्का नराखिकन प्रयोग गरिने निम्नस्तरको भाषाले प्रयोगकर्ताको स्तर त गिराउँछ नै, त्यसले समाजलाई नकारात्मक दिशामा लैजानको निम्ति नकारात्मक रुपले तर सक्रिय भूमिका खेल्दछ। त्यसप्रकारको निम्नस्तरको भाषा प्रयोगकर्ताका केही उदाहरणहरु उल्लेख गर्न चाहन्थे। तर विषयान्तर होला भन्ने डरले यहाँ त्यसबारे उल्लेख गर्न चाहिनँ, त्यसबारे मेरो भनाइ बेग्लै प्रस्तुत गर्नेछु।

जतिसुकै रिस र आवेगलाई व्यक्त गर्न मर्यादित भाषामा प्रयोग गर्न सकिन्छ। आक्रोश उत्तेजना र भावावेशपूर्ण अमर्यादित भाषाको प्रयोगले समस्याहरूको समाधान हुने त होइन। बरु त्यसले समस्याहरुलाई झनै बल्झाउने काम गर्दछ। उत्तेजनामा हामीहरुका चिन्ताहरुलाई चिन्तनको तहमा राखेर धैर्यतापूर्वक विश्लेषण गरेर अभिव्यक्ति दिनुभन्दा ‘तातै खाउँ, जल्दै मरौं’को हडबडे तरीका अपनाउन पुग्दछौं, पाका र जिम्मेवार नागरिकहरूले समेत।

सबै ठाउँमा प्रकट हुने चिन्ता अरु नकारात्मक हुँदैन। प्रारम्भमा प्रकट हुने चिन्ताहरु नै कालान्तरमा चिन्तनको रुपमा विकसित हुँदै जान्छन्, त्यसको निम्ति सचेत प्रयत्नको आवश्यकता पर्दछ। एकैपल्ट चिन्तनहरू पैदा हुँदैन, त्यसको प्रारम्भिक चरण चिन्ता नै हो।

यहाँ एउटा सन्दर्भ उल्लेख गरौं, नेपालमा दुईतिहाइ बहुमतसहितको सरकार छ। तर त्यो सरकारको सञ्चालक पार्टीभित्र विभिन्न खालका मतभेदहरु देखापरेका छन्। मत भिन्नताहरू चरम उत्कर्षमा पुग्ने अवस्थामा छन्। यो प्रश्नमा पनि एउटा चिन्ता ठूलो संख्यामा देखापरेको छ नेपालको वामपन्थी र कम्युनिष्ट आन्दोलनमा दुःखकष्ट त्याग तपस्या गरेर कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने ठूलो जमातमा यो चिन्ता देखापरेको छ कि पार्टीको भविष्य के हुन्छ सरकारको भविष्य के हुन्छ। त्याग तपस्या र बलिदानको जगमा खडा भएको परिवर्तनहरुको भविष्य के हुन्छ, यो चिन्ता सामूहिक र वर्गीय चिन्ता हो।

यो चिन्ताले क्रमशः चिन्तनको रुप लिन धेरै समय लाग्दैन। क्रमश चिन्ताहरु चिन्तनको तहमा विकसित भइरहेका छन्, त्यही चिन्तन मनन गर्दै जाने मन्थनको माध्यमबाट विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउन मद्दत मिल्नेछ, जतिसुकै उत्तेजना आक्रोश र विरोधको कोणबाट छलफल भए पनि यो विषयलाई तार्किक निष्कर्षमा र सकारात्मक समाधानमा पुर्‍याउनुभएको अर्को कुनै विकल्पको बारेमा सोच्नु पनि हुँदैन भन्ने नै पार्टीभित्र र बाहिरको आम धारणा जस्तै बन्दै गइरहेको छ।

हामीलाई चिन्ता र चिन्तन उस्तैउस्तै लाग्छ। तर चिन्ता र चिन्तनको बीचमा धेरै ठूलो अन्तर छ। शाब्दिक अन्तर मात्र होइन, त्यसले पार्ने प्रभावको अन्तर नै गहिरो र गम्भीर खालको हुन्छ। यहाँ म एउटा अनुभवको उल्लेख गर्न चाहन्छु, सन् १९८० को कुरा हो। हामीहरु भारतमा संगठनको भर्खरै सुरुबात गर्दै थियौं। एकपल्टको कुरा हो, नयाँदिल्लीको ग्रेटर कैलाश भन्ने ठाउँमा मेरो पहलमा मेरै गाउँका केही साथीभाइहरुलाई समेटेर अखिल भारत नेपाली एकता समाजको एउटा टोल कमिटी गठन गरियो, त्यो कमिटीमा मेघबहादुर अधिकारी, टीकाराम आचार्य लगायतका ८–१० जना साथीहरु सामेल थिए, त्यो समितिमा निर्माण गर्न सफलता पाएकोमा म भित्रदेखि धेरै नै खुसी थिए। कति खुशी रहेछु भन्ने पछिको निराशाबाट प्रष्ट भयो। त्यो समितिमा बसेका पदाधिकारीहरुले केही समयपछि समितिको माइन्युट कागजपत्रसहित मलाई ल्याएर बुझाए र उनीहरू भने तपाईंले एकता समाज भने पनि अन्ततः यो कम्युनिष्ट पार्टी रहेछ। त्यसकारण हामी यो समितिमा बस्दैनौं, यसको कागजपत्र तपाईं फिर्ता लिनुहोस् भनेर कागजपत्रहरू मलाई नयाँदिल्लीको ग्रेटर कैलाशबाट इन्दुज्रजगाञ्ज भन्ने ठाउँमा ल्याएर फिर्ता बुझाए।

मैले खासै प्रतिक्रिया नदिइकन सामानहरू बुझे खासै फरक नपरैजस्तो व्यवहार गर्ने कोशिस गरे। तर उहाँहरु गइसकेपछि म साह्रै नै चिन्तित बनें। यति धेरै चिन्तित बनें कि केही दिन खाना पनि मीठो भएन, दुब्लाउँदै गएँ। निद्रा कम लाग्न थाल्यो। दिल्लीमा एकता समाजको संगठन भर्खरभर्खर बिस्तार हुँदै थियो। मुस्किलले पुरै दिल्लीमा गरेर दुईसय कार्यकर्ताहरु बनाउन सफल भएका थियौं। त्यसमध्येका आठदश जना त्यो पनि मेरा छिमेकीहरु र मेरो खास मान्छेहरु नै कागजपत्रसहित फिर्ता ल्याएर आफू त्यो संगठनमा नलाग्ने भन्ने कुरा बताउँदा म भित्रैदेखि असाध्यै चिन्तित भएको रहेछु भन्ने कुरा मेरो पछिल्लो गतिविधि र व्यवहारबाट प्रष्ट भयो।

मैले माथि उल्लेख गरेका टीकाराम र मेघबहादुर केही वर्षपछि आफै संगठनमा सामेल भएर सक्रियतापूर्वक भूमिका निभाउनुभयो। २०५१ सालमा म अर्घाखाँचीबाट चुनाव लड्दा उहाँहरू सक्रियतापूर्वक स्वतः काममा खटिनुभयो। चुनाव व्यवस्थापनको काममा यति गम्भीरतापूर्वक भयो कि त्यो देखेर म आफैं दङ्ग परें र मनमनै सोचें, ‘उति बेलाको मेरो चिन्ता अनावश्यक र अर्थहिन रहेछ। समय क्रममा परिस्थिति आफैं सहज बन्दै जाँदो रहेछ। यसरी एउटा समयका नकारात्मक कुराहरु पनि अर्को परिस्थितिमा सकारात्मक हुन पुग्दछन्।

एउटा परिस्थितिमा संगठन त्याग गरेर हिंडेका साथीहरु अर्को परिस्थितिमा सक्रियतापूर्वक संगठनमा काम गर्न आइपुग्छन्। एउटा परिस्थितिका घनिष्ट र सक्रिय साथीहरु संगठन छाडेर अन्यत्र जान्छन्, विरोधी हुन्छन्, कहिलेकाहीँ आफैसित टक्कर लिन आइपुग्छन्। परिस्थितिले कहिलेकाहीँ कट्टर विरोधीहरु पनि साथी बन्न आइ पुग्दछन्। त्यसरी हामीले तत्कालिन परिस्थितिमा गर्ने चिन्ताको दीर्घकालीन परिस्थितिमा कुनै मेल हुँदैन र कुनै अर्थ पनि हुँदैन।

आज पनि सामाजिक सञ्जालहरुमा युवा पुस्ताको प्रतिक्रियाहरु हेर्ने, पढ्ने, बुझ्ने, सुन्ने गर्दा आफ्नो जीवनको त्यही कालखण्ड सम्झने गर्दछु। सामाजिक सञ्जालहरुमा कैयौं प्रतिक्रियाहरुमा आउने त्यसप्रकारका चिन्ताहरु खासमा ती चिन्ता नै हुन्। तर आज आएर त्यसबारे विचार गर्दा ठोकेरै भन्न सक्छु, चिन्तन गरौं, चिन्ता बन्द गरौं। चिन्तनले क्रमशः हाम्रो मनमस्तिकलाई समाधानतिर लैजान्छ, अध्ययन अनुसन्धान बहसको माग गर्दछ र निकाससम्म पुर्‍याउने दिशामा डोर्‍याउन मद्वत गर्दछ। तर चिन्ताले चिन्तालाई नै झन् बढाउँदै लैजान्छ, चिन्ताले चिन्ता थप्दै जान्छ। प्रारम्भमा चिन्ताको रुपमा सूचना प्राप्त गर्दछ, सूचनालाई हाम्रो सचेत चेतनाले चिन्तनको दिशामा प्रशोधन गर्दै लैजान्छ। आम रूपमा त्यस्तो हुन्छ भन्ने जरुरी छैन। व्यक्ति उसको चेतना, अनुभव, अध्ययन, संगत र सामाजिक परिवेशले धेरै कुरा निर्धारण गर्दछ।

चिन्ताको कुनै अर्थ छैन। तर चिन्तनको धेरै ठूलो महत्व छ। मानिसले चिन्तन गर्ने छाडिदिने हो भने उसको आफ्नो निजी जीवन, घरपरिवार, समाज, राष्ट्र, राष्ट्रियता, आर्थिक–सामाजिक र राजनीतिक लगायत सबै मुद्दाहरुमा मानिसहरूको भूमिका शून्य हुँदै जान्छ । तसर्थ, चिन्ता अभिशाप हो भने चिन्तनको आफ्नै धेरै विशाल र दुरगामी महत्व छ।

आजको युवा पुस्ताका सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियालाई नियालेर हेर्दा चिन्तनको मात्रा असाध्यै न्यून र चिन्ताको मात्रा असाध्यै धेरै प्रकट भएको देखिन्छ। नकारात्मक चिन्ताहरु यसरी किन व्याप्त भइरहेका छन् ? हाम्रो समाज यति धेरै फुर्सदिलो कसरी छ ? युवा पुस्तामा सकारात्मक चिन्तन पद्धतिलाई पक्रिएर सकारात्मक छलफल र बहसहरुमा केन्द्रित गराउने उपायहरु के–के होलान् ? समाजमा व्याप्त नकारात्मक प्रश्नहरुलाई पनि सकारात्मक दिशाबाट बहस गर्न नकारात्मकको सट्टा सकारात्मक यस्तो हुनसक्छ भन्ने कोणबाट तर्कवितर्क गर्ने वातावरण बनाउन सम्भव होला कि नहोला भन्ने प्रश्नको एउटा पाटो छँदैछ।

नकारात्मकता चिडचिडापन आज प्रकट हुने प्रायजसो टिप्पणीहरुमा यो पक्ष नै बेसी हावी हुने गरेको छ अर्को अर्थमा भन्दा छलफल बहस टिकाटिप्पणी भनेकै नकारात्मकता, असन्तुष्टि, चिडचिडाहट नै हो कि भन्ने भान हुने किसिमले विषयहरु प्रस्तुत हुने गरेका छन्। यसको एउटा प्रमुख कारण हामीले अर्थात् सम्बन्धित सबैले कुनै पनि विषयसित आफूलाई यति धेरै गम्भीर रुपमा जोड्दछौं कि त्यसो हुनु र नहुनुले सफलता र असफलताले मानौं, हाम्रो सम्पूर्ण जीवनमा नै धेरै ठूलो र गहिरो अर्थ राख्दछ। हामीलाई स्वतःस्फूर्त यस्तो भान हुने गर्दछ कि समाजमा घट्ने घटनाहरुले आफूभित्र लपेटिरहेको हुन्छ र हामी त्यसबाट उम्कन सक्दैन, त्यसकारण हामी चिन्तामा डुब्न पुग्दछौं।

चिन्ताले चिन्तित अभिव्यक्ति सिर्जना गर्दछ, त्यहीबाट अरु विभिन्न समस्या पैदा हुन्छ। त्यसैले चिन्ता र चिन्तनको यो भेदलाई केलाएर बुझिने कला सीपको विकास गर्न जरुरी छ र त्यसका लागि यो प्रश्नमा योभन्दा धेरै गम्भीर खालको बहस सञ्चालन गर्न पनि अति नै आवश्यक छ। यहाँ यसबारेमा कति गम्भीर रुपमा चर्चा गर्न सकिएला भन्न सकिएला। तर पनि यो प्रश्नको बहस समाजमा व्यापक रुपले चलोस् भन्ने चाहना राख्नु खाली रहरको कुरा मात्र होइन कि आजको हाम्रो समाजको हुर्किरहेको अर्थहीन दिशाहीन चिन्ताहरुको प्रयोगलाई सकारात्मक रुपमा आशावादी दिशा दिन नभई नहुने व्यवहारिक आवश्यकता बनेको छ चिन्ता र चिन्तनको बीचको भेदको प्रश्न।

कैयौँपल्ट हामी देख्छौं, विभिन्न संघसंस्था वा पार्टीहरुका नेताहरुको बारेमा घरपरिवारका सदस्यहरूको बारेमा कैयौँ सार्वजनिक मुद्दाहरु उठ्ने गर्दछन्। ती सत्य असत्य जेसुकै भएपनि सार्वजनिक रुपमा उठेका ती मुद्दाहरुले मानिसहरुलाई चिन्तित बनाइरहेको छ। उठिरहेका मुद्दाहरु ठीक बेठीक आफ्नो ठाउँमा छँदैछ। तर त्यस प्रकारका मुद्दा उठ्दा बित्तिकै एउटा पंक्ति चिन्तामा डुबिहाल्ने र बाहिर निस्कन समेत अप्ठ्यारो लाग्ने प्रवृत्ति हाम्रो समाजमा हावी छ।

मेरो भनाइको मतलबलाई अझ प्रष्ट पार्न मैले एउटा सानो हाम्रो छिमेकी गाउँका एक जना चिन्तामणि (नाम परिवर्तन) को एउटा घटना यहाँ उल्लेख गर्न चाहन्छु। सन् १९८० तिरको कुरा हो। चिन्तामणि भारतीय कुस्तीबाज दारा सिंहको धेरै ठूलो प्रशंसक हुनुहुन्थ्यो। दिल्ली र आसपास हुने सबै अन्तर्राष्ट्रिय कुस्ती खेलमा पुग्नुहुन्थ्यो। एक दिनको कुरा हो, दिल्लीमा एक जना पाकिस्तानी कुस्तीबाजसँग भारतीय पहलवान दारासिंहको कुस्ती म्याच हेर्न चिन्तामणि पुग्नुभयो। कुस्ती हेर्न लाग्नुभयो। मञ्चमा चलिरहेको कुस्तीमा मग्नमात्र हुनुभएन। बरु दारा सिंहको पक्षमा आफू बसेको फलामको कुर्सीबाट जोड लगाउन थाल्नुभयो। अन्त्यमा दारा सिंहले प्रतियोगिता जिते। विजेता सिंहलाई उनका प्रशंसकहरुले फूलमाला, जुलुस नारा, बाजागाजासहित स्टेडियमबाट बाहिर लगे। तर, चिन्तामणि आफू बसेको कुर्सीबाट उठ्न सक्नु भएन, किनकि कुस्तिीको दौरानमा उहाँले जुन, जोड लगाउनुभएको थियो, त्यसले उहाँको गानो गएछ। पेट दुखेर साह्रै गाह्रो भएछ। दारा सिंह खुसी हुँदै गाडी चढेर घर गए, यता चिन्तामणि भने एउटा हातले पेट च्यापेर बल्लतल्ल लत्रिँदै आफ्नो घरतिर लागे।

आज चिन्तामणि त हाम्रो बीचमा हुनुहुन्नँ। उहाँको निधन भएको पनि वर्षौं भइसकेको छ। प्रवृत्तिगत हिसाबले आज पनि लाखौं चिन्तामणिहरु हाम्रो बीचमा छन्, जसले अनावश्यक रुपमा आफ्नो शक्ति र ऊर्जालाई खर्च गरिरहेका छन्। कोरोना भाइरसको महामारी, बाढी पहिरोको महामारी, देशको राजनीतिक परिस्थितिले उब्जाएका असन्तुष्टिहरु, नेकपाभित्र देखापरेका अन्तरविरोध र अन्तर कलहहरुको कारणले पनि आज चिन्तामणिहरुको संख्या बढेर गएको छ। असंख्य चिन्तामणिहरुले आफ्नो ठाउँबाट अर्थहीन कार्यको निम्ति आफ्नो उर्जा र शक्ति खर्च गरिरहनुभएको छ।

त्यसैगरी जुन उर्जा र शक्ति खर्च भइरहेको छ, त्यसको निर्णयात्मक तहमा न कुनै अर्थ छ, न कुनै महत्व, न त्यस प्रकारको मनगढन्ते चिन्ताको कसैलाई प्रवाह नै हुन्छ। तर, सम्बन्धित व्यक्तिको स्वास्थ्य र मानसिकतामा भने धेरै ठूलो असर पार्दछ। मानिसहरुका मनभित्र मच्चिने चिन्ताका तुफानहरु मनभित्रै ज्वारभाटाको रुपमा उठ्ने र सेलाउने गर्दछन्। कहिलेकाहीँ उत्तेजना र भावावेशमा समेत पुर्‍याउँछन्। घरपरिवार र समाजमा अनावश्यक झगडहरू सिर्जना गर्ने काम पनि गर्दछन्। त्यसले बाहिरी समाजमा कुनै तात्विक असर वा प्रभाव पार्न सक्दैन। तर मानिसहरूको मनलाई उकुसमुकुस पारिदिने, अनावश्यक रुपमा बेचैनी बढाइदिने, अनावश्यक तनावमा धकेलिने, मान्छेहरुलाई बिमारी नै बनाउने वा त्योभन्दा गम्भीर परिणाम समेत ल्याउनका निम्ति नकारात्मक रुपले धेरै ठूलो असर गर्दछन्।

तत्कालीन परिस्थितिमा धेरै नि पीडादायक विषयहरु पनि समय क्रममा खुशी र प्रशन्नताका विषयहरु पनि हुन सक्छन्। परिस्थिति फेरिँदै जाँदा घटनाहरू पनि फेरिँदै जान्छन्। घटनाहरुलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुँदै जान्छ। तत्काल सबै कुरा सिद्धियो जस्तो लागे पनि पछि ती घटनाहरु समयान्तरमा सकारात्मक पनि हुन सक्दछन्। त्यसैले चिन्तामा नबाँचौ। चिन्तामा समय खेर नफालौं। हाम्रो जीवन व्यवहारमा आइपर्ने तमाम चिन्ताहरुलाई चिन्तनको कसीबाट रुपान्तरित गरेर हेर्ने, बुझ्ने, विश्लेषण गर्ने, साथीभाइसित र परिवारसँग व्यापक छलफलमार्फत् तत्कालका चिन्ताहरुलाई अर्को मोड दिन सम्भव हुनेछ। यसबाट समाजका घटनाहरुलाई पनि धेरै हदसम्म नियन्त्रण गर्न र समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन सम्भव हुनेछ। श्रोत - लाेकपाटी न्यूज

(आचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हुन्।)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया