भूमिकास्थानको ढाकावाङ्गमा चुनावी गठबन्धनले गर्याे मतदातालाई धन्यवादज्ञापन, हार व्यक्ति र पार्टीको नभई सिङ्गो गठबन्धनको हो: नेता केसी

| २०७९ माघ १० गते १७: ५४ मा प्रकाशित

टेकराज भुसाल ,सन्धिखर्क।गत मंसिर ४ गते सम्पन्न संघ तथा प्रादेशिक तहको निर्वाचनमा बनेको ५ दलीय गठबन्धनले भूमिकास्थानकाे ढाकावाङ्गमा मतदातालाई धन्यवाद ज्ञापन गरेको छ।

मंगलबार ढाकावाङ्गकाे पिपलनेटा बजारमा सम्पन्न कार्यक्रममा बाेल्दै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा गत मंसिर ४ गतेको निर्वाचनमा अर्घाखाँची निर्वाचन क्षेत्र १(क)का बाम-लाेकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका सागर केसीले कतिपय जिम्मेवार व्यक्तिहरू गठबन्धनको निर्णय कार्यान्वयनतर्फ नलाग्नु तथा नेताले मतदातासँग पहुँच राख्नुभन्दा आर्थिक विषयमा जाेड दिनुका कारणले अर्घाखाँचीमा गठबन्धन सफल हुन नसकेको बताउदै यो हार कुनै व्यक्ति, कुनै १ राजनीति दलको नभई सिङ्गो गठबन्धनकाे हार भएको बताउनुभयो।

 सागर केसी

केसीले अर्घाखाँचीमा गठबन्धनलाई विजयको नजिक पुर्‍याउने मतदाता, शुभचिन्तक, पत्रकार, शिक्षक, कर्मचारी, निर्वाचन प्रमुख र राजनीतिक दल, नेता, जनप्रतिनिधि एवम् सम्पूर्ण कार्यकर्तालाई धन्यवाद दिदै जिल्लाका हरेक बिकास निर्माणका काममा सदैव जनतासँग सँगै रहने बताउनुभयो।

त्यस्तै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले गत स्थानीय निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारका रुपमा नगरप्रमुखमा विजय भएको भन्दै समग्र भूमिकास्थान नगरपालिकाकाे बिकासका निम्ति निर्वाचनमा गठबन्धन गरेका दल र अन्य दलसँग सहकार्य गरि अघि बढेको र आगामी दिन पनि अघि बढ्ने बताउनुभयो।

नेकपा (माओवादी केन्द)का भूमिकास्थान नगरपालिकाका उपाध्यक्ष बाबुराम खनालले प्रतिगमनका बिरुद्ध बनेको गठबन्धन सरकार गठन प्रक्रियामा तितरबितर भएपनि भूमिकास्थान नगरपालिकामा प्रतिगमनका बिरुद्ध बनेको गठबन्धन एक मन एकता भएर रहनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमाेर्चाका नेता, कार्यकर्ता तथा शुभेच्छुककाे उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्