प्रकाश खनालका १० मुक्तकहरु

| २०७८ असार ९ गते १६: ३० मा प्रकाशित

१.पीडासँग चुक्दै नचुक ओखती ला भन्दै
तेरो लागि यो हो अचुक ओखती ला भन्दै
म आलो घाउको पीडाले छटपटाएको बेला
समय दिन्छ नुन र चुक ओखती ला भन्दै

२.
आउनेको सफर सिसा मन्जिल शिलाजस्तो भयो
दिलमा आउने जाने एउटा शिलशिला जस्तो भयो
फूलजस्तो दिल लिएर जो दिलभित्र छिरेको थियो
अफसोच निस्किँदा उसैको दिल शिलाजस्तो भयो

३.
तिमी दही,नौनी बन्नू ,म नरहँदा नि हुन्छ भने
घोटेर खियाऊ मेरो जिन्दगी मदानी हुन्छ भने
तिम्रो नाम श्रेष्ठ दानवीरको सुचीमा राखे हुन्छ,
यदि कोही,कसैलाई आँसु दिएर दानी हुन्छ भने

४.
खै उसको के पो छ र दाउ खेलिरहेको छ
हुर्कँदै गरेको प्रेमको बिरुवा उखेलिरहेको छ
मेरो यो दिललाई एउटा मैदानजस्तो बनाएर
खेलाडी बनी प्रेमको खेलमा ऊ खेलिरहेको छ

५.
कसैलाई थाहा छैन कस्तो कदम ऊ चालिरहेको छ
ऊ यस्तो ब्यापारी हो जो हर उद्यम उचालिरहेको छ
राती छुराको व्यापार गर्छ, घाउलाई ग्राहक बनाउँछ
दिनमा बेच्नलाई जो हातमा मल्हम उचालिरहेको छ

६.
तीखो गरि घोच्छ अनि धार छ कि जस्तो लाग्छ
तर साँच्चै अभागी त निधार छ कि जस्तो लाग्छ
एक वचनले समेत मुटु टुक्राटुक्रा पारिदिँदा
मान्छेको जिब्रोमा पनि धार छ कि जस्तो लाग्छ

७.
दैवले नि मर्नु न बाँच्नु पारिदिएको छ
दु:ख माथि दु:ख झन् थुपारिदिएको छ
जोसँग सँगै जुनी बिताउने सपना थियो
उसैले आज निम्तोको सुपारी दिएको छ

८.
सबैले अभागी भएको आरोप लाछन् उनको निधारमाथि
किनकि काला दाग काला थोप्ला छन् उनको निधारमाथि
अब फेरि उनैलाई सबैले भाग्यमानी भनेर भन्नुपर्नेछ
भर्खरै उनले भाग्य बदल्ने खोप लाछन् उनको निधारमाथि

९.
लाग्छ मेरो यो निधार नै अभागी रहेछ
र त दु:खले पछ्याउँदै छ सुख भागिरहेछ
आज दिलमा छुरा हान्नेहरूलाई नियाल्दै थिएँ
अफसोच जो दिलमा थियो उही सहभागी रहेछ

१०.मन जलिरहेछ र तन जलिरहेछ
गरेर राख्दा पनि जतन जलिरहेछ
विज्ञापन ज्यादा फाइदा चाहिँ कम
तिम्रो मायाको ब्राण्ड पनि पतन्जली रहेछ

प्रतिक्रिया दिनुहोस्