चोरेको प्रेम पत्रहरु मध्यको एक बियोग पत्र: दुर्गाप्रसाद खनाल

| २०७८ फागुन २ गते २२: ४१ मा प्रकाशित

एक ताका थियो पत्र मञ्जूषाबाट खुबै पत्र चोरिन्थ्यो,मैले पनि मेरा साथीहरुसङ्ग मिलेर निकै नै चोरे।अहिले ती पत्रहरु कता कता पुगे थाहा भएन।कति त हवाईजहाज भए भने कति चही पानी जहाज।तर पुग्न पर्ने स्थान सम्म पुग्न सकेन।
आज  अचानक  वि.स.२०६४ बि.एड प्रथम बर्ष पढ्दाको एउटा नोटबुक फेला पर्यो। बिगतका कुरा कल्पिदै यसो पाना पल्टाए।त्यहाँ एउटा पत्र भेट्टाए।चोरेको पत्रहरु मध्यको एक पत्र। बियोग पत्र।
                   
      पत्र यसप्रकार छ।

          २०६४/१०/२९
"तिमी अनि म" कस्तो स्वाद्बिहिन सपना रहेछ मेरो लागी।
आज सपनमा मैले तिमी अनि मेरो सपना देखेछु,यो सबै अब सायद सपनामा मात्रै होला।
जब बिउझिए ओछ्यानले सार्है बिझाएको रहेछ तर त्यो भन्दा बढि मुटु बिझाई रहेको थियो खै किन हो किन।सपना जस्तो लाग्न थाल्यो मलाई हाम्रो बिगत कुनै दन्त्यकथा जस्तो। जहाँ म थिए तिमी थियौ अनि मैले रचेको हाम्रो सपना थियो । जहाँ सपना नै सपना थिए मेरो सपना मेरो बिपना जस्तो।

जब बिउझिए आफुलाई एक्लै पाए बाटो बिराएको।थाहा छ? म हुर्केको घरको आगन भन्दा प्यारो लाग्न थालेको थियो मलाई तिम्रो घरको दैलो।म खेलेको गाउँ भन्दा मायालु लाग्न थालेको थियो तिम्रो गाउँ ।नसोध मलाई, तिमीलाई म कति माया गर्थे भनेर।कुनै दिन बताउने छन हामी हिडेको गल्लीहरुले तिमीलाई,हामी उभेको ठाउँहरुले तिमीलाई,हामी सुतेको ओछ्यानले तिमीलाई। के साच्चै तिमीलाई तिम्रो ओछ्यानले सोध्दैन आधा रातमा मेरो बारेमा?
के देखाउदैनन तिम्रो सिरानीले मेरो सपनाहरु?

सायद मिल्ने भए तिमीसङ्ग मेरो सिरानी साट्ने थिए,अनि थाहा पाउने थियौ कति देख्ने रैछु मैले तिमीलाई।
बिपनामा त सपना मात्रै रह्यो अब तिमीलाई पाउने आशाहरु,त्यसैले म सुत्न औधी मनपराउछु।
सिरानीमा टाउको रखेर तिम्रो बारे कल्पिदा खै किन बरररररर बग्छन आशुहरु र रुझाउछन मेरो सिरानी।
यसो कोल्टे फेर्छु कसैले रोएको देख्ला भनेर अनि भिजेको सिरानीले भिजाउछन मेरो गालाहरु।
हो त्यही गाला जुन गाला तिमीले मुसार्दा झन्झनाउथे,त्यही गाला जुन तिमीले चुम्मन गर्दा अचल हुन्थे।
आज त्यो गाला हास्न शुद्ध सकेको छैन।

मौन छ साहाराहिन छ। ए सच्चै मेरो गाला अहिले सुकेको छ रे।अब त तिम्रो हात र ओठलाई मन नपर्न सक्छ मेरो गाला।
अब त म सङ्ग कुरा गर्नको लागि मेरो साथी मसग  मेरो झ्यालमा एउटा बोत्तल र गिलास छ। जुन बिहानदेखि बेलुका सम्म त्यही बसेर मलाई साथ दिन्छ र साथ दिन्छन केही ठुटाहरु।

के तिमीले आफ्नो सुन्दर जिवनको केही समय निकालेर सोचेको छौ त? कि म के गर्दै छु भनेर?
म केही गरिरहेको छैन तिमीलाई कल्पिनु बाहेक। अब त कल्पना पनि मीठो लाग्न थलेको छ।

सहन सक्ने रहेछु बियोग,नसोच्नु कि बियोग सहन नसकेर रक्सी पिउन थालेछ भनेर।
अब त बियोग मीठो लाग्न थालेको छ त्यो पनि रक्सीको साथमा।
छुट्टै हुदो रहेछ भित्रैबाट मुटु चिरिएको आभास।
छुट्टै हुदो रहेछ आङ सिरिङ्ग हुनुको आभास।
छुट्टै हुदो रहेछ आँसु बग्नुको आभास।
छुट्टै हुदो रहेछ पिडाको आभास।
भुल्नलाई पिउदै छु कि सम्झिएर कि मीठो लागेर थाहा छैन।तर पिउदै छु।
हो म पिउदै छु।हरेक दिन,हरेक रात,हरेक समय बस म पिउदै छु,पिउदै नै छु।
आउनेछु एकदिन अवस्य तिम्रो ठाउँमा छुटै उमङ्ग हर्सका साथ तिमीलाई अङ्गालोमा लगाउने छु र भन्ने छु "धन्यबाद"।
धन्यबाद मीठो समयको लागि,धन्यबाद यत्रो ठूलो तड्पन,छट्पटाहटकोलागि धन्यबाद।

यो पत्र तिम्रो निम्ति मेरो तर्फबाट अन्तिम हुनेछ।मलाई पत्र लेख्ने कष्ट नगर्नु तिमीले,म चाँडै यो गाउँ  छाडेर कतै जाँदै छु।कता जाँदै छु थाहा छैन तर जाँदैछु।

उहीँ तिम्रो
Samar Love
दुर्गाप्रसाद खनाल सन्धिखर्क ११

प्रतिक्रिया दिनुहोस्