रिजल्ट बिग्रियो पराल हालिदिनुस् शिक्षकलाई :एक अनुभूति

| २०८१ असार १४ गते १७: ५४ मा प्रकाशित

अर्घाखाँची ।शिक्षण सिकाइमा उच्चतम उपलब्धि हात पार्न शिक्षक ,विद्यार्थी ,अभिभावक र सरोकारवाला पक्ष सबैको उत्तिकै भुमिका हुन्छ।

सहजीकरणका हिसाबले प्रमुख भुमिकामा शिक्षक देखिने हुनाले जब परिणाम आउँछ र परिणाम आशातीत हुँदैन तब शिक्षकहरू आलोचनामा पर्छन् ।

स्वभाविक र सकारात्मक आलोचनालाई ग्रहण गरि आफू सुध्रिँदै शिक्षण कौशलमा सुधार गर्नु शिक्षकको कर्तव्य हुन आउँछ र यो कुरा हामी सबैलाई स्विकार्य छ।तर विशेषगरी कक्षा ८,१०,१२ को रिजल्ट पश्चात् आम शिक्षकलाई झोले ,निकम्मा भन्ने र अब यिनीहरूलाई पराल हालिदिए हुन्छ भन्ने भाष्यले सामाजिक सञ्जालभर कब्जा जमाएको हुन्छ ।सबैले शिक्षकलाई धारेहात लगाएकै हुन्छन् ।के रिजल्ट कमजोर आउनुमा मात्रै शिक्षकको दोष छ ? हो हाम्रा कमजोरी छन् हामीले सुधार्नुपर्छ तर के हामी मात्रै दोषी हो ! होइन ।यसका बिबिध कारण छन् ।अरु थुप्रै कारणहरुको चर्चा फेरि गरौंला अहिले हामीलाई पराल हालिदिनेहरुकै कुरा गरौँ ।शिक्षकलाई रिजल्ट कम आए बापत बाँधेर पराल हालिदिनेहरुमा आम जनता पर्दैनन् ।जनताका आफ्ना असन्तुष्टि छन् तर यो तहको आरोप लगाउन्नन् किनकि आफू, आफ्ना छोराछोरी ,शिक्षक ,शैक्षिक प्रशासक र व्यवस्थापक सबैको भुमिकामा त्रुटी रहेको बुझेका छन् उनीहरूले ।

को हुन त शिक्षकलाई पराल हालिदिनेहरु ??

१- राजनीतिक अन्धताले भुइँ न भाँडामा रहेकाहरु जो नेता मन्त्रीलाई धम्क्याएर विभिन्न कोणबाट राज्य दोहनगरी आय आर्जन गरिरहेकाहरु ।

२- राजनीतिक आस्थाका आधारमा सरकारका विभिन्न तहमा टिके जागिर खाएर सेवाग्राहीलाई दुख दिइरहेकाहरु

३-  आफ्नो भुमिका शून्य भएका बिचौलियाको भरमा बाँचेका शैक्षिक प्रशासकहरु 

४- माटो सुहाउँदो शिक्षा होइन डलरे शिक्षाको निमित्त शिक्षाविद् कहलाइएकाहरु 

५- केही वैदेशिक रोजगारमा गएकाहरु (अनजानबस ,पीडा हुँदा भावनामा बग्नेहरु)

किन हुँदैन विश्लेषण यी पक्षमा ?

१-के विद्यालयमा सबै टिके शिक्षक छन् ?

२- खुरुखुरु आफ्नो काममा खटेका कर्तव्यनिष्ठ शिक्षकहरु नालायक हुन् ?

३- राम्रो गर्ने शिक्षकहरुलाई हौसला प्रदान गर्नुको साटो किन राजनीतिक भागबण्डा ,शैक्षिक प्रशासकसँगको हिमचिम र बिचौलियाको भुमिकामा रहेकाहरु मात्रै पुरस्कृत हुन्छन् ?

४-विद्यालय ब्यबस्थापन समिति निर्माणको प्राक्टिस कस्तो छ ?किन अभिभावकले विद्यालयको मूल नेतृत्व गर्न पाइरहेका छैनन् ?

५- विद्यालयको प्रशासनिक नेतृत्व गरिरहेका प्र अ हरुको भुमिका के सुन्दर छ ?
राजनीतिक ,चारित्रिक विसंगत र आफ्ना आसेपासेलाई काखी च्याप्ने र इमानदारीपूर्वक अध्यापन कार्यमा संलग्न हुने शिक्षकलाई ठेगान लगाइरहेको किन कसैले देख्दैन ?

६-देशको शिक्षा नितिले के बालबालिकाको सिकाइको तह र देशको आवश्यकता बोकिरहेको छ ?

७-शिक्षा क्षेत्र हाँक्ने देशको माथिल्लो निकाय कागजमा मात्रै कटिबद्ध छ कि फिल्डमा हामी शिक्षकलाई हौसला प्रदान गर्न सँगसँगै काँधमा काँध मिलाईरहेको छ ?
 यसरी माथि उल्लेख गरिएका र यी बाहेक अन्य थुप्रै शैक्षिक उन्नयनका अबरोधबारे रिजल्ट आउँदाको हप्ता दिन मात्रै पनि विश्लेषण हुँदैन केवल हचुवाको भरमा शिक्षकलाई पराल हालिदिने जमातहरुको हल्लामा नाचिरहन्छ देश ।
हामी शिक्षकका कमजोरी :

१-हाम्रो शैक्षणिक कौशलताले आशातीत परिणाम दिन सकेन र यसलाई बदल्नुपर्छ भन्ने जान्दाजान्दै पनि विद्यालय ब्यबस्थापन समिति ,प्र अ ,स्थानीय तह र शैक्षिक प्रशासकको विभेद सम्झेर निराश बन्नु ,चिरेर अगाडि जान हिचकिचाउनु ,होस् ,मरोस् भन्ने भावनाले घर जमाउन दिनु।जसको प्रत्यक्ष असर सिकाइ सहजिकरणमा पर्नु र उपलब्धि न्यून बन्दै जानू ।

२-इमानदार कर्तव्यनिष्ठ शिक्षकहरुबिच एकता नहुनु ।सहकर्मीहरुलाई विभेद हुँदा ससक्त प्रतिकार गर्न हिचकिचाउनु ।हातेमालो नगर्नु ।

३-स्वार्थको निमित्त प्र अ को वरिपरि घुम्ने ,चम्चे बन्ने ,राजनीतिक नेतृत्वको साख्खे बन्ने ,शैक्षिक प्रशासकलाई अतिरिक्त लाभ दिलाउन शिक्षककै दोहन गर्नु जस्ता अवगुणबाट टाढा रहन नसक्नु ।यस्ता सहकर्मीहरुको दबदबा चिर्न नसक्नु ।यसरी रिजल्ट आउनासाथ सबै शिक्षकलाई एउटै डालोमा राखेर पराल हालिदिने हो भने तपाईंको मूल्याङ्कन क्षमतामा पनि प्रश्न उठ्छ भन्ने किन बुझ्नुहुन्न तपाईंहरु?

तपाईंहरुले विकास गरिरहनु भएको यो भाष्यले समाजमा कस्तो संस्कारको विकास भइरहेको छ ?

इमानदारीताका साथ काम गरिरहेका शिक्षकहरुले पराल चपाउँदै पढाउँदै गर्न सक्लान् ?
अनि आफ्नो विषयमा सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराइरहेका हामी जस्ता शिक्षकले अझै ठूलो बिटो पराल खाने हो ?
त्यसैले यसरी शिक्षकको अपमान गर्नु खेदजनक छ ।

शैक्षिक उपलब्धिलाई सुधार गर्न फगत शिक्षक माथि दोष थुपार्नु मात्रै महानता होइन ।बरु कर्तव्यनिष्ठ शिक्षकलाई अझ राम्रो गर्न हरतरहले उत्साहित गर्नुपर्दछ ताकि ढोँगी प्र अ ,राजनीतिक नेतृत्व र शैक्षिक प्रशासकको आडमा काममा नखटिने शिक्षकहरू पनि  लाजले काममा खटिनु परोस् । सबै मिलेर अभिभावकलाई आफ्ना नानी बाबुको पढाइमा चासो राख्ने बनाउनु अत्यावश्यक छ ।शिक्षकहरूलाई काममा अझ जाँगर गर्न हौसला प्रदान गर्ने र असल सुपरिवेक्षण गर्ने भुमिका निभाउनु पर्नेहरुले पनि आफ्नो कर्तव्य सम्झनुपर्छ।राज्यले असल अभिभावकको भुमिका निर्वाह गर्नुपर्छ ।

अन्तमा :आउनुस् सबै मिलेर समग्र शैक्षिक उन्नयनमा लागौँ ।हामी सुध्रन तयार छौँ ।सकारात्मक सुझावको अपेक्षा गर्छौं । के तपाईंहरु रिजल्ट आउँदाको हप्ता दिन शिक्षकलाई गाली गर्ने र बाँकी ५१ हप्ता निदाउन मन पराउनु हुन्छ ? दोष दिनकै लागि गौँडो कुरेर बस्ने हो भने त असारमा धान रोप्न जानेबेला हामीलाई खुवाउन पराल खोज्न जानुपर्ला नि सधैंभरि अनि कसरी फल्छ त तपाईंको फाँटमा धान ?

नारायण खनाल भगवती मा.वि सन्धिखर्कका शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्