कुन व्यवसायले कर तिर्नु पर्दैन, कुनलाई कर छुट ?

| २०७८ असार ९ गते १६: १४ मा प्रकाशित

तपाईं व्यवसाय गर्दै हुनुहुन्छ वा गरिरहनु भएको छ भने तपाईंले सो व्यवसाय गर्दा राज्यलाई कति कर तिर्नुपर्छ भन्ने जानकारी हुनु आवश्यक छ । सरकारले केही व्यवसायमा कर नलाग्ने प्रावधान गरेको छ भने केहीमा कर छुट दिएको छ । कस्ता खालका व्यवसायमा कर लाग्छ र कस्तोमा लाग्दैन भन्ने जानकारी हामीले दिन खोजेका छौँ ।

यी व्यवसायले तिर्नुपर्दैन कर

कुनै फर्म, कम्पनी वा संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त भएको आयमा कर लाग्दैन । सहकारी संस्था वा संघको आयमा तथा वितरण गर्ने लाभांशमा पनि कर लाग्नेछैन । कृषि वा वन पैदावारमा आधारित सहकारी संघसंस्था, कृषि औजारको कारोबार गर्ने सहकारी संस्थालाई कर छुटको व्यवस्था छ ।

गाउँपालिका क्षेत्रमा सञ्चालित लघुवित्त, ग्रामीण विकास बैंक, हुलाक तथा बैंकमा निक्षेपबाट आर्जित बार्षिक २५ हजारसम्मको ब्याज आयमा कर लाग्दैन । एक अर्बभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने र पर्यटन उद्योगलाई सञ्चालन भएको पाँच वर्षसम्म पूर्ण रुपमा कर छुट हुने व्यवस्था छ ।

त्यस्तो उद्योगले कम्तीमा २५ प्रतिशत जडित क्षमता बृद्धि गरी दुई अब पुँजी पुर्याइ ३ सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसबाट बृद्धि भएको आयमा पहिलो पाँच वर्षसम्म पूर्णरुपमा आयकर छुटको व्यवस्था भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

हिमाली तथा पहाडी जिल्लामा विशेष आर्थिक क्षेत्र सेजमा स्थापित उद्योगलाई १० वर्षसम्म आयकरमा शतप्रतिशत छुट हुने व्यवस्था छ । अन्य क्षेत्रमा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई शुरुको पाँच वर्षसम्मको आयकरमा शतप्रतिशत छुटको व्यवस्था छ । यस्तै लाभांश वितरणमा समेत कर लाग्ने छैन ।

खनिज, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास अन्वेषण तथा उत्खनन गर्ने व्यक्तिले २०८०  साल चैत्रसम्म व्यापारिक कारोबार शुरु गरेमा सात वर्षसम्म कर लाग्दैन ।

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाइ कम्पनी र पर्यटन उद्योग जसको दुई अर्ब पुँजी छ शुरुको पाँच वर्षसम्म कर लाग्दैन ।

लघु उद्यम व्यवसायले कारोबार शुरु गरेको ७ वर्षसम्म आयकर लाग्दैन । महिला उद्यमीले सञ्चालन गरेका छ भने अर्को थप तीन वर्ष पनि कर छुट हुनेछ ।

काठमाडौँमा विशेष उद्योग सञ्चालन भएको र सो उद्योग स्थानान्तरण भइ सञ्चालन भएमा स्थानान्तरण भइ सञ्चालन भएको तीन वर्षसम्म कर लाग्दैन ।

यी व्यवसायले तिर्नुपर्छ कर तर छुटमा

संगठित फर्म वा संस्था साझेदारी रुपमा दर्ता भएको छ भने त्यस्तो कृषि व्यवसायबाट प्राप्त गरेको आयमा ५० प्रतिशत कर छुट हुनेछ ।

पूर्णरुपले सञ्चालन भएका विशेष उद्योगबाट भएको आयमा प्राकृतिक व्यक्तिले ३० प्रतिशत तिनुपर्ने अवस्था भएमा त्यसमा एक तिहाइले छुट हुने व्यवस्था छ ।  निकायको आयमा लाग्ने यस्तो करमा २० प्रतिशतले छुट हुनेछ ।

कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सुचना प्रविधि उद्योगबाट भएको आयमा एकसय भन्दा बढीलाई रोजगारी दिएको छ भने लाग्ने करको  ९० प्रतिशत तिर्नुपर्ने छ भने ३ सयभन्दा बढीलाई रोजगारी दिएको छ भने ८० प्रतिशत, ५ सयभन्दा बढीलाई रोजगारी दिएको छ भने ७५ प्रतिशत एक हजार भन्दा बढीलाई रोजगारी दिएको छ भने ७० प्रतिशत तिरे पुग्छ । समावेशी बनाइ रोजगारी दिएको छ भने तिर्नुपर्ने करमा थप १० प्रतिशत पनि छुट हुनेछ ।

अति अविकसित क्षेत्रबाट उद्योग सञ्चालन भएको छ भने सो उद्योगले व्यावसायिक उत्पादन गरेको मितिले १० वर्षसम्म आयमा लाग्ने करमा २० प्रतिशत कर लाग्ने र अविकसित क्षेत्रबाट सञ्चालन भएको उद्योगमा भने लाग्ने करमा १० प्रतिशत कर लाग्ने व्यवस्था हुने विभागले जनाएको छ । कम विकसित क्षेत्रमा सञ्चालन भएको उद्योगको हकमा भने २० प्रतिशत कर लाग्ने व्यवस्था छ । 

पर्यटन तथा विशेष उद्योग सञ्चालन भएको ६ वर्षदेखि ८ वर्षसम्म ५० प्रतिशत कर छुट, हिमाली तथा पहाडी क्षेत्रको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई १० वर्षपछि ५० प्रतिशत आयकरमा छुटको व्यवस्था छ ।

अन्य विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई ५ वर्षपछि ५० प्रतिशत आयकर छुट हुनेछ । लाभांश वितरणमा पनि ५ वर्षपछि ८ वर्षसम्म ५० प्रतिशत छुट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्