file photo
सङ्खुवासभा। चैनपुर नगरपालिका-४ मैदानेमा प्रहरीको कारबाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन्। बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए।
प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ खोल्नुपरेको थियो। दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको मल्लले बताए।
त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। घटनास्थल मैदानेमा सशस्त्र र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले जानकारी दिए।
घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी पुगेका छन्। घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर समूहका कार्यकर्ताको खोजी तीव्र पारिएको तर अहिलेसम्म कोही फेला नपरेको प्रहरी प्रमुख मल्लको भनाइ छ। रासस
तपाईको प्रतिक्रिया