एम.सी.सी.भित्र अमेरिकाको खतरनाक रणनीति लुकेको छ : राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी

| २०७८ भदौ २२ गते १९: २८ मा प्रकाशित

गुरुदेब खनाल। राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.ले एम.सी.सी.भित्र अमेरिकाको खतरनाक रणनीति लुकेको दाबी गर्नुभएको छ । 

अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष के.सी.ले एमसीसी देशलाई समृद्ध बनाउने नभई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने खतरनाक खेल रहेको जिकिर गर्नुभएको हो । देशका मुख्य राजनीतिक पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्र लगाएतका दलहरु संसदबाट एमसीसी पास गराउन लागि परेको आरोप लगाउँदै अध्यक्ष के.सी.ले यदि एम.सी.सी.संसदबाट पास भए नेतृत्वलाई जनताले माफ नगर्ने चेतावनी दिनुभएको छ ।

अफगानिस्तान जस्ता देशहरु अमेरिकी साम्राज्यवादी षडयन्त्रको शिकार हुँदा भोग्नु परेको पिडा सबैलाई छर्लङ्ग भएको उहाँको भनाई छ । कार्यक्रममा नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालले एमसीसीको भन्दा धेरै कर एनसेलबाट लिनुपर्ने भएपनि नेपालका नेतृत्वदायी  दलहरुले एमसीसी कार्यान्वयन गर्न खोज्नु दुःखद भएको बताउनुभएको छ । 

एमसीसी जस्तो राष्ट्रघाती परियोजना लागु भए देशले ठुलो मुल्य चुकाउनुपर्ने जिकिर गर्दै प्रवक्ता ढकालले एमसीसीको खारेजिका निम्ती एक जुट हुन आम नेपालीलाई अपिल गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.,सागर के.सी. लगायत अन्य बिभिन्न तहका नेताहरुको सहभागितामा सम्पन्न कोणसभाको संचालन राजमो जिल्ला सचिव बाबुराम पन्थीले गर्नुभएको थियो । 

भोलीबाट चल्ने संघिय संसदको अधिवेशनमा एमसीसीको विद्ययक टेवुल हुने आशंका बढेपछि राजमोले आयोजना गरेको देशब्यापी बिरोध कार्यक्रम अन्तरगत अर्घाखाँचीमा कोणसभाको आयोजना गरिएको उक्त पार्टिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्