नेकपा (एमाले) अर्घाखाँचीको वडा र पालिका अधिवेशनको तयारी पुरा

| २०७८ कार्तिक ५ गते १७: ०४ मा प्रकाशित

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको वडा र पालिका अधिवेशन को तयारी पुरा भएको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले कार्तिक ६ र ९ गते हुने वडा र पालिका अधिवेशनको तयारी अन्तिम चरणमा पुराएको हो ।

 कार्तिक २ गते पार्टी जिल्ला कार्यालयको विस्तारित बैठकको योजना अनुसार गाउँ÷नगर कमिटीको बैठक वसी वडा अधिवेशनको लागि सबै तयारी पुरा गरेको छ । अधिवेशनको लागि आवश्यक पार्टी सदस्यता अद्यावधिक गर्ने काम सम्पन्न भएको छ । वडा कमिटीहरुले पार्टी सदस्यहरुलाई सुचना प्रवाह गर्ने, अधिवेशनको लागि आवश्यक कागजात तयारी लगायतको काम नेकपा एमाले अर्घाखाँचीले सम्पन्न गरेको छ ।

अर्घाखाँचीका ६१ वटा वडाहरुमा कार्तिक ६ गते एकैदिन वडा अधिवेशन सम्पन्न हुनेछ । अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । उक्त दिन पार्टीका ९६३२ जना पार्टी सदस्यहरु सहभागी हुनेछन् । पार्टीका  अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने उक्त कार्यक्रममा जिल्लाका करीव २५ वटाहरु भर्चुअल माध्यममा जोडिने गरि तयारी गरिएको छ । 

वडा अधिवेशनबाट पार्टी एकताको मर्म र भावना अनुसार वढिमा ३१ सदस्यीय वडा कमिटी गठन हुनेछ । वडा कमिटीमा १ जना अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव गरि ५ जना पदाधिकारी चयन हुनेछन् । पदाधिकारीमा १ महिला अनिवार्य र कमिटीमा ३३ प्रतिशत महिला विधानमै सुनिश्चित गरिएको छ भने स्थानीय रुपमा जातजातीको अवस्थिती अनुसार कमिटी समावेशी बनाइनेछ । 

वडा अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला कमिटी सदस्यहरुलाई जिल्ला प्रतिनिधिको रुपमा वडाहरुमा खटाइएको छ । वडा अधिवेशनकै दिन पालिका अधिवेशनका लागि प्रतिनिधि समेत छनौट गरिनेछ । जिल्लाले तय गरेको मापदण्ड अनुसार समावेशी तर्फ ५ जना पार्टी सदस्य बरावर १ जना र खुल्ला तर्फ ८ जना पार्टी सदस्य वराबर १ जना प्रतिनिधि पालिका अधिवेशनको लागि छनौट हुनेछ । यस सम्वन्धि परिपत्र समेत वडा तथा पालिका तहसम्म पठाइसकिएको कार्यालय सचिव लिल बहादुर बि.कले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्