अर्घाखाँचीमा २५ जनाभन्दा बढी भेला हुन रोक

| २०७८ पौष २८ गते १५: ३१ मा प्रकाशित

अशोक खनाल। कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले २५ जनाभन्दा बढी एकै ठाउँ भेला हुन रोक लगाएको छ ।

मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भिडभाडजन्य कार्यक्रम सञ्चालन नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ । बैठकले सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य समेत गरेको छ ।

सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बन्द गराउन अनुरोध गरेको प्रशासनले पूर्वनिर्धारित परीक्षाहरु भने जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।

त्यस्तै सिट क्षमताभन्दा यात्रु नबोक्न तथा हरेकपटक गाडीहरुलाई निसंक्रमण गर्न प्रशासनले अनुरोध गरेको छ । हरेक सवारी साधनहरुको ढोकामा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नका साथै मास्क नलगाएकालाई यात्रा गर्न नदिन समेत प्रशासनको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्