सरकारले बजेट कटौती गरेको प्रति पुर्व उपप्रधानमन्त्री रायमाझी आक्रोशित

| २०७८ फागुन २३ गते १८: ५१ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची। 
फागुन २३ - पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले गठबन्धन सरकारले  जनताप्रति गद्दारी गरेको आरोप लगाउनु भएको छ ।

 प्रेस चौतारी नेपाल अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा  मन्तव्य राख्दै उहाँले एमाले सरकारले  जिल्लाको बिकासको  निम्ति विनियोजन गरेको  बजेट अहिलेको गठबन्धन सरकारले कटौती गरेर जनमत प्रति गम्भीर आघात पुर्याएको बताउनुभयो । उहाँले दलहरुको बीचमा कसले बढी बिकास गर्ने भन्नेमा प्रतिस्पर्धा हुनुपर्नेमा कसरी बिकास निर्माणको काम रोक्न सकिन्छ भनी षड्यन्त्र गर्ने परिपाटीको बिकास भएको प्रति दु:ख व्यक्त गर्दै बिकास बिरोधि दल र त्यसका नेताहरूलाई जनताले चुनावमा ठेगान लगाउने बताउनुभयो ।

जुनसुकै क्षेत्र बाट जिल्लाको बजेट रोक्ने षड्यन्त्र भएपनि अर्घाखाँचीको बिकास निर्माण नरोकिने भन्दै उहाँले एयरपोर्ट निर्माण ,सालझण्डी ढोरपाटन षडक,जिल्ला अस्पताल ,नौमुले जलविद्युत आयोजना , मदन भण्डारी मार्ग जिल्लामा गौरवका आयोजना भएको बताउनुभयो ।  नेकपा एमालेका केन्द्रीय सचिव समेत रहनुभएका उहाँले सत्ता साझेदार दलहरू चुनाव देखि डराएको बताउनुभयो ।  जतिसुकै दलहरू बीच गठबन्धन गरेर चुनावमा  गएपनि  एमालेलाई जित्न नसक्ने अबस्था आएपछि  अनेकौं बहाना बनाएर सत्ता गठबन्धन  चुनाव सार्न उद्दत रहेको उहाँको भनाई थियो । रायमाझीले जतिसुकै दलबीच गठबन्धन गरेपनि चुनावमा धुलो चटाउने दावी समेत गर्नुभयो ।

लुम्बिनी प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा  कानुन मन्त्री चेतनारायण आचार्यले जिल्लाको बिकासमा बाधक नबन्न गठबन्धन सरकार र यसका नेताहरूलाई अग्रह गर्नुभयो । उहाँले जिल्लाको बिकास र समृद्धिको निम्ति केन्द्र र प्रदेश सरकार बाट विनियोजित करीव १ करोड ८० लाख बजेट कटौती गरिएको भन्दै गठबन्धन सरकारका कारण जिल्लाको बिकासलाई पछि धकेल्ने काम भएको बताउनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका आचार्यले फरक प्रसंगमा चुनढुङ्गा उत्खननको रोयल्टी कति उठ्यो भनेर जनताले एक एक गरि हिसाब किताब खोज्नुपर्ने भन्दै जनताको सम्पत्तिमा व्यक्तिको रजाइँ अस्वीकार्य हुने चेतावनी समेत दिनु भयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल ,नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरे ,जिल्ला अध्यक्ष पीताम्बर भुसाल , एमाले गण्डकी प्रदेश समितिका सदस्य लिला जि.सी., जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेल ,उपसचिव शम्भु प्रसाद पोख्रेल लगायतको उपस्थिति रहेको कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष वसन्त श्रेष्ठ छापेलीको अध्यक्षता ,उपाध्यक्ष करिष्मा खनालको स्वागत मन्तव्य र सहसचिव सिद्धार्थ के.सी. को संचालनमा सम्पन्न भएको थियो ।

यसैबीच नेकपा एमालेले आज भुमिकास्थानमा नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने भन्दै राष्ट्रघाति ,जनविरोधी दलाललाई तिरस्कार गरि जनताले नेकपा एमालेलाई बलियो साथ दिएको बताए । 

उनिहरुले बिकास र समृद्धिको निम्ति नेकपा एमालेको बिकल्प नभएको भन्दै जनतालाई गोलबन्द गरेर अगाडि बढ्न कार्यकर्ताको ध्यानाकर्षण समेत गराए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी ,केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल ,चेतनारायण आचार्य,एमाले नेता रामजी प्रसाद घिमिरे ,जिल्ला अध्यक्ष पीताम्बर भुसाल,भुमिकास्थान नगर कमिटीका ईन्चार्ज खगेश्वर पन्थी ,भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम नगर कमिटीका अध्यक्ष मणि पौडेलको अध्यक्षता ,उपाध्यक्ष चिरञ्जीवी खनालको स्वागत मन्तव्य र सचिव टामलाल भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रम विभिन्न पार्टी परित्याग गरि १ सय ५० जना व्यक्ति नेकपा एमालेमा प्रवेश गरेको  एमाले जिल्ला प्रचार विभाग प्रमुख शोभाकर पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्