टोपबहादुर रायमाझीलाई अर्घाखाँचीमा चुनौती कति ? जिल्लामा अरु दल एकातिर, एमाले अर्कोतिर हुँदा के होला ?

| २०७८ चैत ६ गते १४: ४९ मा प्रकाशित

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी माओवादीमा रहँदा संविधानसभाको दुवै निर्वाचन आफ्नै बलमा जितेका थिए । २०७४ सालको निर्वाचनमा एमालेसँगको तालमेलमा करिव १८ हजार मतान्तरमा उनी अर्घाखाँचीबाट सांसद निर्वाचित भए ।

अहिले परिस्थिति बदलिएको छ । रायमाझीले माओवादी केन्द्र छाडेर एमाले रोजेका छन् भने अब उनी ‘सूर्य’ चुनाव चिह्न लिएर जनतामा जानुपर्नेछ । अर्कोतिर नेकपा एमाले पनि विभाजित भइसकेको छ ।

माओवादीमा रहँदा तीन पटक चुनाव जितेका उनलाई अबको चुनाव जित्न कति सहज होला त भन्ने प्रश्न स्वाभाविक रुपमा उब्जिएको छ । किनकि सत्तारुढ गठबन्धनबीच अर्घाखाँचीमा चुनावी तालमेल गर्ने निर्णय भएको छ ।

माओवादीमा रहँदा प्रभावशाली भूमिकामा रहँदै आएका रायमाझी एमाले र माओवादीबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा सर्वोच्च अदालतको आदेशबाट विघटन भएपछि भने एमालेमै रहने निर्णयमा पुगे । त्यतिबेला नै उनको राजनीतिक भविष्यमाथि अड्कलबाजी सुरु भएको थियो ।

झन् अहिले अर्घाखाँचीमा ५ दलीय गठबन्धनले आपसमा तालमेल गरेर निर्वाचनमा जाने जिल्लास्तरीय सहमति गरेपछि एमालेका सचिवसमेत रहेका रायमाझीको चुनावी भविष्यमाथि विभिन्न अड्कलबाजी सुरु भएको छ ।

एमालेमा पार्टीको सचिव बन्न सफल भएका रायमाझीलाई तीनै तहको निर्वाचनमा पाइला पाइलामा ठेस लगाउने रणनीति नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले बनाएका छन् ।

यद्यपि एमालेको संगठन बलियो नै मानिएको अर्घाखाँचीमा रायमाझीले आफूसँगै माओवादीबाट तत्कालीन राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का लगायत नेताहरुलाई एमालेमा लगेर आफ्नो राजनीतिक यात्रालाई मजबुत देखाउने प्रयास गरेका छन् ।

यसबीचमा नेकपा एमाले पनि विभाजन भइसकेको छ । पार्टी विभाजनले एमालेमा कस्तो असर गर्ला भन्नेबारे अहिले नै भन्न सकिने अवस्था छैन । अर्कोतिर, एमालेका जिल्लास्तरका सबैजसो कार्यकर्ताले रायमाझीलाई नेता मान्ने वा एमालेका मतदाताले विश्वास गर्छन् कि गर्दैनन् भन्ने पनि परीक्षण भइसकेको छैन ।

यो अवस्थामा स्थानीय तहको निर्वाचनले धेरै कुरा प्रस्ट पार्ने देखिन्छ । अहिले सत्तारुढ गठबन्धनका तर्फबाट अर्घाखाँची जिल्लास्तरमा भएको समझदारी तीनै तहको चुनावसम्म कायम रहने हो भने यसले पनि धेरै ठुलो प्रभाव पार्न सक्छ । त्यो अवस्थामा रायमाझीलाई चुनाव जित्न पक्कै सहज हुनेछैन ।

यद्यपि गठबन्धन घटकका जिल्लास्तरका नेताले गरेको सहमतिलाई केन्द्रले मान्छ कि मान्दैन भन्ने हेर्न बाँकी नै छ ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले गठबन्धनमा कुनै गडबड नहुने दावी गरे । पद बाँडफाँटमा दलीय स्वार्थभन्दा माथि उठेर तीनै तहका निर्वाचनसँगै संघ संस्थाहरुका निर्वाचनमा पनि मिलेर जाने लिखित सहमति भएको रातोपाटीलाई बताए ।

उनले नेपाली काँग्रेसका जिल्ला सभापतिदेखि लिएर प्रदेश महामन्त्रीसम्म बसेको बैठकले गरेको निर्णयमाथि शंका नगर्न आग्रह गरे । अन्य ठाउँमा गठबन्धन नभए पनि अर्घाखाँचीमा जिल्लामा सहज रुपमा सत्तारुढ गठबन्धनबीच तालमेल हुने उनको दाबी छ ।

अर्घाखाँचीको विगतलाई फर्केर हेर्दा

जिल्लाबाट ६४ सालदेखि दुई वटा संविधानसभा निर्वाचन र एक पटक प्रतिनिधिसभा निर्वाचनमा लगातार रायमाझीले जित हासिल गर्दै आएका छन् । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभातर्फ भने दुवै सिट एमालेले जितेको थियो ।

यस्तै स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले ४ र माओवादी केन्द्रले एक र एमालेले एक तहमा जित हासिल गरेका थिए । सर्वोच्चको आदेशबाट तत्कालीन नेकपा खारेज भएसँगै माओवादी केन्द्रबाट निर्वाचित मेयर पनि रायमाझीसँगै एमालेमा रहे ।

२०७४ सालको निर्वाचन : स्थानीय तहमा कसको मत कति ?

१. सितगंगा नगरपालिका– काँग्रेस ८,६७७, एमाले ६,९९०, जनमोर्चा १३७

२. सन्धिर्खक नगरपालिका– काँग्रेस ८,२३०, एमाले ७,१२७, जनमोर्चा ५७८

३. भूमिकास्थान नगरपालिका– माओवादी ५,३२०, जनमोर्चा ४,५४२, एमाले ४७०१

४. पाणिनी गाउँपालिका– काँग्रेस ५,९७७, एमाले ५,४८५, माओवादी ८१४

५. छत्रदेव गाउँपालिका– काँग्रेस ६,१६७, एमाले ५,०६५, माओवादी ९३२

६ मालारानी गाउँपालिका– एमाले ६,५०३, माओवादी ५,५०४, जनमोर्चा ५६०

एमालेको यस्तो छ तयारी

एमालेमा सचिवसमेत रहेका टोपबहादुरको जित वा हार भन्दा पनि एमालेले कस्तो रणनीति बनाउँछ भन्नेतिर अहिले धेरैको ध्यान केन्द्रित भएको छ । अर्घाखाँचीमा पछिल्ला दिन विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरु बढ्दै गरेको एमालेको दाबी छ । एमाले विगतको भन्दा अझै बलियो संगठन भएको पार्टी भएकाले टोपबहादुरको जित सहज हुने एमाले अर्घाखाँचीका पूर्व अध्यक्ष एवं प्रदेशसभा सदस्य रामजी घिमिरेले रातोपाटीलाई बताए ।

उनले सत्तारुढ गठबन्धन चुनावसम्म जान नसक्ने दाबी गर्दै नेपाली काँग्रेस पद बाँडफाँटका बेला उदार हुन नसक्ने आँकलन गरे । उनले केन्द्रमा शेखर कोइराला पक्षधरहरुले गठबन्धनसँग मिलेर जान नसक्ने अडान राख्दै आएको भन्दै काँग्रेसलाई गठबन्धनमा बाँधिन सहज नहुने बताए ।

सत्तारुढ गठबन्धनको जिल्लास्तरमा भएको सहमतिबाट एमाले हतास नभएको बरु दैनिकजसो माओवादी र नेपाली काँग्रेसका कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेको अवस्थामा त्यसलाई रोक्न गठबन्धनबाट तर्फबाट यस्तो निर्णय गरिएको हुनसक्ने उनले बताए ।

उनले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धन कायम रहेको अवस्थामा समेत अर्घाखाँची जिल्लामा एमाले नै विजयी हुने गरी पार्टी नेतृत्वले योजना र संगठन परिचालनमा जोड दिएको बताए । ‘हामीले ६ वटै स्थानीय तहमा जित्ने छौँ भने प्रदेश र संघीय त सधँै हाम्रै पकडको सिट हो’, उनले भने ।

त्यसो त, टोपबहादुरविरुद्ध गठबन्धनका तर्फबाट तालमेलमै उम्मेदवारी घोषणा भएको अवस्थामा पनि को उम्मेदवार बन्ला भन्ने टुङ्गो छैन । साझा उम्मेदवारी दिने अवस्थामा गठबन्धनबाट कुन दलले उम्मेदवारी दिने हो र सो दलबाट कसले टिकट पाउने हो भन्ने प्रस्ट नभई चुनावको समग्र खाका अनुमान गर्न कठिन हुने जानकारहरु बताउँछन् ।स्रोत - रातो पाटि 

प्रतिक्रिया दिनुहोस्