सबै बिचारलाई समेटेर काम गर्नेछौ : गीता भाट

| २०७९ बैशाख २४ गते १५: ०८ मा प्रकाशित

अर्घाखाँची । यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । उम्मेदवारहरु घरघरमा भोट माग्नमा व्यस्त छन् । मुलुकको पहिलो पार्टी एमाले एक्लै चुनावमा भिड्दै छ भने उसका बिरुद्ध पाँच दलिय गठबन्धन बनेको छ । शितगंगामा  एमालेले चर्चित नेतृ गीता भाटलाई उपमेयरको उम्मेदवार बनाएको छ । चुनावी एजेण्डा,जित्ने आधार र समग्र चुनावी गतिविधिमा आधारित रहि लुम्बिनीपोष्टले उपमेयर पदका उम्मेदवार भाटसँग गरेको कुराकानीको सम्पादित अंश । 

तपाइलाई मतदाताले भोट किन दिने ? 

म सक्षम व्यक्ति हो । उपमेयरको रुपमा विजयी भएपछि मैले उत्कृष्ट ढंगले काम गर्न सक्छु । चुनावमा गरेका हरेक प्रतिवद्धताहरु सहजै रुपमा पुरा गर्ने विषयमा विश्वास दिलाउन चाहन्छु । जनताको वास्तविक समस्यामा जानकार छु। फेरीपनी जनताको घरघरमा पुगेर समस्या बुझ्ने छु र  समाधान खोज्ने छु । अहिले गठबन्धनको नाममा महिलाको प्रतिनिधित्व गर्ने अधिकारलाई हनन् गरिएको छ । एउटै पार्टीबाट चुनाव लड्दा प्रमुख वा उप– प्रमुख मध्ये एक महिला हुनु पर्ने कानुनी व्यवस्था छ । गठबन्धन गर्नेहरुले महिला उम्मेदवार खडा गर्न सकेका छैनन् । यो महिला माथिको अन्याय हो । हाम्रो पालिकामा गठबन्धनको तर्फबाट मेयर उपमेयरमा दुबै जना पुरुषहरु प्रतिस्पर्धामा हुनुहुन्छ । हाम्रो पार्टीले हरेक पालिकामा महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । सम्पूर्ण महिला दिदिबहिनी आमाबुवा, दाजुभाईको रोजाइमा म पर्छु भन्नेमा ढुक्क छु । शिक्षा, स्वास्थ्य कृषि, पर्यटन, खेलकुद क्षेत्रको विकास गर्न, बेरोजगारी समस्यको हल गर्न, महिला सशक्तिकरण, सामाजिक सुरक्षाको क्षेत्रका काम गर्न र पूर्वाधारको क्षेत्रमा पर्याप्त विकास गर्नका लागि मैले उम्मेदवारी दिएकी हुँ ।  

तपाइका चुनावी एजेण्डा के के हुन ?

हामीले मतदाता सामु प्रतिवद्धता पत्र लिएर आएका छौं । थुप्रै एजेण्डाहरु अघि सारेका छौं । शितगंगाको विकासका लागि लागि थुप्रै लोकप्रिय र दीगो विकासका कार्यक्रमहरु अघि सारेका छौं । शितगंगा प्राकृतिक श्रोत र साधनले सम्पन्न पालिका हो । हाम्रो पालिकाले थुप्रै संभावना बोकेको छ । कृषिको क्षेत्रमा प्रचुर संभावना छ, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण कामहरु गर्न सकिने आधारहरु छन् । विज्ञ, विशेषज्ञहरुको सल्लाहमा  शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि उल्लेख्य कामहरु गर्ने योजना निर्माण गरेका छौं । हामी निर्वाचित हुनसाथ पञ्चवर्षिय योजनाहरु निर्माण गरी परिणाम दिने गरी काम अघि बढाउने छौं । हामीले गरेका कामका नतिजाहरु प्रत्येक वर्ष देखिदै जानेछन् । कृषि, घरेलु तथा साना उद्योगको माध्यमबाट युवाहरुलाई रोजगारी सिर्जना गर्नेछौं । महिला, बालबालिका, वृद्धवृद्धा, अपागंता भएका व्यक्ति, दलित, गरिव, पिछडिएको वर्गको उत्थानका लागि विशेष कार्यक्रम ल्याउने छौं । ‘समृद्ध शितगंगा, सुखी शितगंगाबासी’को अभिभारा पुरा गर्नका लागि हामी चुनावी मैदानमा छौ । 

जित्ने आधार के÷के हुन ? 

मैले केहि कुरा माथि पनि उल्लेख गरेँ । मेरा जित्ने आधार धेरै छन् । म सिङ्गो शितगंगामा राम्रोसँग भिजेकी छु ।  सामाजिक अभियन्ता र राजनीतिककर्मी को रुपमा सबैको घरघरमा पुगेर दुःख सुखमा साथ दिएकी छु । म शितगंगाबासीका लागि परिचत अनुहार हो । उपमेयरका थुप्रै काम, कर्तव्य र अधिकारहरु हुन्छन् । न्यायीक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । मैले कानुन र समाजशास्त्रमा स्नातकोत्तर गरेकी छु । मेरो अध्ययनले पनि मेरो जिम्मेवारीलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने छ ।  यसपटक मैले विजयी हासिल गर्ने कुरामा कुनै दुविधा छैन । मेरो उम्मेदवारीले शितगंगाबासी बुवाआमा दाजुभाइ दिदि बहिनीहरुमा एक खालको उत्साह थपिएको छ । धेरैले सहयोग गर्ने विश्वास दिलाउनुभएको छ त्यसैले यसपाली मेरो जित सुनिश्चित छ । 

अघिल्लो पटक पनि तपाइ उपमेयर पदको उम्मेदवार बनेर पराजित हुनुभएको थियो, पाँच दलिय गठबन्धनलाई पराजित गरेर विजयी बन्न सक्नुहोला ? अघिल्लो पटक पनि एमालेका बिरुद्ध कांग्रेस, माओवादी केन्द्रको गठबन्धन भएको थियो । गठबन्धन भएपनि म झिनो मतान्तरले पराजित भएकी थिएँ । तर यसपटकको गठबन्धन सफल नहुने निश्चित छ । जनता धेरै सचेत बनिसकेका छन् । पार्टीका नेता कार्यकर्ता असाध्यै मेहनत पूर्वक गतिशीलका साथ प्रचार प्रसारमा लागिरहनु भएको छ । हाम्रो भेटघाट तथा सभाहरुमा जनताको असाध्यै उत्साहजन उपस्थिति देखिएको छ । म चुनाव प्रचारको क्रममा जहाँ पुगेकी छु त्यहाका मतदाताले मलाई आत्मदेखि नै माया गर्नुभएको छ । यस पटक शितगंगामा हाम्रो संगठन निकै बलियो बन्दै गइरहेको छ । नेकपाको निरन्तरता स्वरुप माओवादीबाट धेरै नेता,कार्यकर्ता पार्टीमा समाहित हुनुभएको छ । कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा परित्याग गरी धेरै नेता, कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ । म नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको भएपनी अन्य राजनीतिक दलमा आस्थाराख्ने थुप्रै मतदाताले मलाई मत दिने प्रतिबद्धता ब्यक्त गर्नुभएकोले यसपटक मैले  जित हासिल गर्नेमा कुनै शंका छैन ।
अन्त्यमा केही भन्नू छ कि ?

यो पटक पनि अघिल्लो पटक उम्मेदवार बनेका हामी मेयर पदमा बसन्त श्रेष्ठ र उपमेयरमा म गिता भाट भिड्दै छौँ । हामी दुबै जना पार्टीमा खटेका, जनताको सेवा गरेका र आगामी दिनमा पनि थुप्रै काम गर्न सक्ने क्षमता भएका व्यक्ति हौं । त्यसैले एकपटक हामीलाई नगर प्रमुख, उपप्रमुख भएर सेवा गर्ने मौका दिनुहुन्छ भन्नेमा विश्वस्त छौँ । हामीले जितेपछि हाम्रो नेतृत्वमा सामाजिक रुपान्तरणको अभियान अघि बढाउने छौ। 

चुनाव जस्ले जितेपनि सबै मिलेर जाने हो । त्यतिबेला हामीले राजनीतिक आग्रह राख्ने छैनौं । सबै राजनीतिक दलका  साथीहरूसङ्ग सङ्गै बसेर उहाँहरुका राम्रा कुराहरूलाई समेटेर साझा योजना निर्माण  गर्ने नीति अबलम्बन गर्नेछौ ।

प्रतिक्रिया दिनुहोस्