अर्घाखाँचीमा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्यामा वृद्धि

| २०७९ सावन १५ गते १३: ३६ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अपरिपक्व उमेर विवाह, प्रेम विवाह र वैदेशिक रोजगारी जस्ता कारण अर्घाखाँचीमा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्यामा वृद्धि भएको पाइएको छ।

सम्बन्धविच्छेद गर्नेमा ८० प्रतिशत बढि  ४० वर्षमुनिका रहेका छन् । 

अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका हरेका छन् । 

गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला अदालत अर्घाखाँचीमा ३ सय ४९ वटा  मुद्दा दर्ता भएका छन् । जसमा २ सय ६ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेका जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले जानकारी दिए। उनका अनुसार अदलतमा आएका मुद्दामध्ये झण्डै ६० प्रतिशत मुद्धा सम्बन्ध विच्छेदका रहेका छन् । 

अपरिपक उमेर, बैदेशिक रोजगारी, पारिवारिक असन्तुलन, श्रीमान- श्रीमतीबी असझमदारी ,घरेलु हिंसा, यौन सन्तुष्टि, महिला शसक्तिकरणलगायतका कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको श्रेस्तेदार खनालको भनाइ छ । 

गत आर्थिक वर्षमा २ सय ६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १ सय ६१ वटा मुद्धा फर्छ्यौट भएका छन् । ४५ वटा मुद्दा फर्छयौटका लागि बाँकी रहेको जिल्ला अदालत अर्घाखाँचीका न्यायधीश बासुदेव न्यौपानेले बताए।

अघिल्लो वर्षबाट बाँकी रहेका तथा यस वर्षका गरी ४ सय ७४ मुद्दामध्ये ३ सय ४८ वटा मुद्दा फर्छयौट गरिएको जिल्ला न्यायाधीश न्यौपानेले जानकारी दिए।

 सूचना प्रविधिको बढि प्रयोग, समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध , छोरी छोराको चाहना विपरित घर परिवारले विवाह गरिदिनु, आफूले चाहेको र आफूले माया गरेको मानिससँग विवाह गर्न परिवार तथा समाज बाधक बन्नु , घरपरिबार र श्रीमानले श्रीमती तथा बुहारीको ख्याल नगर्नु जस्ता कारणले पनि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ । 

उनकाअनुसार सूचना र प्रविधिको पहुँच बढि हुनु र बिलासिताको जीवनयापन गर्ने चाहना राख्नुले पनि बढि सम्बन्ध विच्छेदका घटना बढेका हुन् ।  

सम्बन्ध विच्छेद गर्नेमा अधिकांश  ३० वर्ष भित्रका रहेका छन् । जिल्लाको अवस्था हेर्दा अन्य धेरै कारण भए पनि प्रेम विवाह र वैदेशिक रोजगारीका कारणलेनै बढि सम्बन्ध विच्छेदका घटना बढि हुने गरेको दखिएको छ ।   

प्रतिक्रिया दिनुहोस्