नेकपा एमालेको जित सुनिश्चित छ: उज्ज्वल

| २०७९ बैशाख २३ गते १७: २४ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची।नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले ५ दलिय गठबन्धन हारको मानसिकता लिएर चुनावमा गएको बताउनुभएको छ ।

नेकपा एमाले मालारानी-८ वडा कमिटी द्वारा विभिन्न टोलमा आयोजित चुनावी कार्यक्रममा मन्तव्य राख्दै उहाँले व्यक्तिगत स्वार्थ ,पद र प्रतिष्ठाको निम्ति बनेको गठबन्धन जनता बाट तिरस्कृत हुँदै गएको बताउनुभयो । वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्न नसकेको भन्दै उहाँले सरकार   दिन प्रतिदिन असफल बन्दै गएको बताउनुभयो । राष्ट्रिय सभाका  पुर्व सदस्य समेत रहेका खड्काले एमालेको सरकारले विनियोजन गरेको बजेट गठबन्धन सरकारले कटौती गरेर जनता माथि गद्दारी गरेको आरोप समेत  लगाउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्रीले नेकपा एमालेको अविजित यात्रा कसैले रोकेर नरोकिने बताउनुभयो । अहिले देशव्यापी रुपमा नेकपा एमालेको पक्षमा जनलहर आएको भन्दै उहाँले अर्घाखाँची जिल्लामा पनि नेकपा एमालेका उम्मेदवार विजयी हुने सुनिश्चित भएको वताउनु भयो ।

नेकपा एमालेको तर्फबाट मालारानी गाउँ पालिकामा अध्यक्ष पदका उम्मेदवार दलबहादुर भट्टराई र उपाध्यक्ष पदका उम्मेदवार दीपा पोख्रेलले दिगो बिकास ,सुशासन र सामाजिक न्यायको निम्ति आफुहरुलाई विजयी गराउन अग्रह गर्नुभयो । 

नेकपा एमालेका नेता बालकृष्ण आचार्यले मालारानी गाउँ पालिकाले  नमुना किसिमले काम गरेको दाबी गर्नुभयो। नेकपा एमालेका उम्मेदवारलाई विजयी वनाएर बिकास र समृद्धिको पक्षमा उभिन स्थानीय बासिन्दालाई अग्रह गर्नुभयो ।

नेकपा एमाले मालारानी गाउँ पालिका कमिटीका अध्यक्ष सालिकराम आचार्यले जनता एमालेको जित हेर्न आतुर रहेको भन्दै मालारानी गाउँ पालिकाको सबै सिटमा नेकपा एमाले विजयी हुने सुनिश्चित भएको बताउनुभयो ।

मालारानी वडा नं.-८ को बजिने,हंसपुर,दोबाटा,कमेरेपानी,जगरबोट र बाँजाखर्कमा अलग अलग जनभेटघाट  कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रम नेकपा एमालेको तर्फबाट वडा नं.-८ को वडा अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बस्नेत ,सदस्यहरु सुमित्रा परियार ,पदमा पन्थी ,नेत्रबहादुर बि.क.,बलबहादुर हौंजाली ,स्थानीय नेताहरू गंगा बि.क.,रामप्रसाद भुसाल ,खिमबहादुर रानाले मन्तव्य राख्दै आफ्नो वडा नेकपा एमालेको लालकिल्ला भएको भन्दै कसैले तोड्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य जुना घिमिरे लगायतका नेताहरको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्