एमाले फुट्ने, माधव नेपालले नयाँ दल खोल्ने

| २०७८ असार २८ गते १६: ०६ मा प्रकाशित

काठमाडौं। प्रतिनिधि सभा पुनः स्थापना भएपछि नेकपा एमाले पार्टीको भविष्यबारे चासो बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २३ एमाले सांसदले गरेको हस्ताक्षर फिर्ता लिन दबाब दिदै आएका थिए । हस्ताक्षर फिर्ता नलिए एमाले हुननसक्ने बताएका थिए ।

अब २३ सांसदको हस्ताक्षरकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अवस्था बन्यो । यसले ओलीलाई ठूलो राजनीतिक धक्का परेको छ । अब उनले माधव नेपालसहित हस्ताक्षरकर्ता २३ सांसदमाथि कस्तो कदम चाल्ने हुन् ? चासोको विषय बनेको छ ।

आज एमाले स्थायी कमिटी बैठक डाकिएको छ । बैठकमा माधव नेपाल खेमाका स्थायी कमिटी सदस्य नजाने भएका छन् । आजै जन्मदिन भएका बामदेव गौतम पनि नजाने भएका छन् ।

माधव नेपाल समूहको खेमामाथि आजको बैठकले कुनै कठोर कदम चाल्ने सम्भावना पनि छ । त्यसले नेकपा एमालेलाई औपचारिक विभाजनतर्फ लान सक्छ ।

कुनैपनि बेला पार्टी फुट्नसक्ने बुझेर माधव नेपालले अग्रिम तयारी गरिसकेका छन् । उनीनिकट पूर्व अनेरास्ववियू नेता जीवन राईले नेकपा एकीकृत स्थापना गरी कलम चिन्ह लिइसकेका छन् । माधव नेपालले अब नयाँ दल खोलेर बढ्ने सम्भावना देखिएको छ ।

एमाले जोगाउन अब केपी शर्मा ओलीले अध्यक्ष छाडेर नयाँ ढंगले बढेमात्र सम्भव देखिन थालेको छ । कि त माधव नेपाल ब्याक हुनुपर्छ । दुवै नेता ब्याक नहुने भएपछि एमाले फुट्ने निश्चितप्रायः छ ।

माधव नेपालको एमाले केन्द्रीय कमिटी र संसदीय दलमा बहुमत छैन । अब उनले देउवा, प्रचण्डसहितको गठबन्धनमा अझै रहने हो भने पार्टी विभाजनको कठोर निर्णयमा जानुको विकल्प छैन । यसकारण पनि एमाले फुट्ने सम्भावना छ । माधव नेपालले कलम चिन्ह लिएर नयाँ दल खोल्ने सम्भावना प्रबल भएको छ ।स्रोत - रिपोर्टर्स नेपाल 

प्रतिक्रिया दिनुहोस्