लुम्बिनीमा कोरोना संक्रमण बढ्यो, प्रति १०० जनामा ३० संक्रमित

| २०७८ सावन १८ गते १३: ५३ मा प्रकाशित

बुटवल । पछिल्लो दुई हप्तामा लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित विरामी बढेका हुन् ।

बजार र सार्वजनिक यातायातमा यात्रुको भीडभाड बढेको छ तर स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइ हुँदा संक्रमण दर पनि बढेको चिकित्सकहरु बताउँछन् । संक्रमित हुनेमा व्यवसायी, पेशाकर्मी लगायत कामकाजी उमेर समूहका रहेका छन् ।

एक सय जनाको पीसीआर परीक्षण गर्दा औसत ३० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए । रुपन्देहीसहित छिमेकी जिल्लाहरु अर्घाखाँची, गुल्मी, कपिलवस्तु लगायतका जिल्लाबाट आएकाहरुमा कोरोना संक्रमण बढी देखिएको र हरेक दिन कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको डा.पाठकले बताए ।

संक्रमित विरामी बढेसँगै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना वार्डको आईसीयूका २० वटै बेड भरिभराउ रहेका छन् । यस्तै २६ वटा एचडीयू बेडमध्ये १५ बेडमा र इमर्जेन्सीमा ११ जना कोरोना संक्रमित विरामी भर्ना भएका डा. पाठकले जानकारी दिए ।

सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाई भीडभाडमा निस्कने र मिल्दोजुल्दो लक्षण देखिंदा पनि परीक्षण नगर्ने परिपाटीले कोरोना संक्रमण बढेको डा. पाठकको भनाइ छ । ‘भाइरल ज्वरो मात्र भनेर कोरोना परीक्षण नगरी बस्नु हुँदैन,’ डा. पाठकको सुझाव छ, ‘परीक्षणमा ढिलाइ र हेलचेक्र्याइ नगरौं ।’

लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा १ साउनदेखि १७ साउनेसम्म ११६ जनामा उच्च ज्वरो देखिएको फिभर क्लिनिकमा कार्यरत प्यारामेडिक्स कमल गौतमले बताए । ‘उच्च ज्वरो देखिएका सबैलाई कोरोना परीक्षण गर्न सुझाव दिने गरेका छौं,’ गौतमले भने, ‘परीक्षण गर्नेमध्ये ३० प्रतिशतभन्दा बढीमा कोरोना देखिएको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले पछिल्लो २४ घण्टामा १७१ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको बताए । पेशा, व्यवसाय गर्ने उमेर समूहका व्यक्ति खोप लगाउनबाट वञ्चित भएका कारण पछिल्लो समय यो उमेर समूहका संक्रमित बढी देखिएकाले अब यही समूहलाई खोपमा प्राथमिकता दिनुपर्ने डा. गिरीको सुझाव छ ।

तथ्यांक अद्यावधिक भएन

लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार दिनसम्म कोरोना संक्रमण सम्बन्धी तथ्याङ्क अद्यावधिक गरेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयको वेबसाइटमा १४ साउनसम्मको तथ्यांक मात्र अद्यावधिक छ । मन्त्रालयका प्रवक्ता रोशनलाल चौधरीले प्राविधिक समस्याका कारण तथ्यांक अद्यावधिक गर्न नपाइएको बताए ।

१४ साउनसम्मको तथ्यांक अनुसार प्रदेशमा १०९८ जना उपचाररत छन् । तीमध्ये आईसीयूमा ५० जना, एचडीयूमा १०७ जना र भेन्टिलेटरमा ४ जना गरी २०८ जना कोरोना विशेष अस्पतालमा, ८२५ जना होम आइसोलेसनमा र ६५ जना आइसोलेसन सेन्टरमा रहेका छन् । प्रदेशमा १४ साउनसम्म २०९५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्