गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने गरि तयारी भइरहेको छ: मन्त्री पम्फा भुसाल

| २०७८ सावन २१ गते १३: २६ मा प्रकाशित

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताउनुभएको छ।

बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरू सँगको छलफलमा मन्त्री भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निः शुल्क विद्युत उपभोग गर्न दिने गरी आफूले तयारी अगाडि बढाएको बताइन्।

विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन्। ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरूलाई कही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु। करिब करिब हामी त्यसको निर्षर्षमा पुग्दैछौँ। घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्धेश्यद्धारा त्यसको तयारी गरेको छु मैले,’ उनले भनिन्।

ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्‍याउनको निम्ति पनि आफू क्रियाशिल रहने बताइन्। सिँचाईको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन्।

सिँचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उनले उल्लेख गरिन्। उनले भनिन्, ‘सबै कृषियोग्य जमिनमा सिँचाई पुर्‍याउने। सिँचाईलाई पनि हामीले आधारभुत र निःशुल्क ढंगले सेवा दिन सक्यो भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाई गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्यो भने त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पद्धार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो।’

उनले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि बताइन्।स्रोत - सेतो पाटि 

प्रतिक्रिया दिनुहोस्