गुल्मीमा तपाईंको माक्स खै? अभियान संचालन

| २०७८ सावन २१ गते २२: ३४ मा प्रकाशित

गुल्मी। गुल्मी,जिल्लामा कोरोना संक्रमण वृद्धि भएसँगै ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी संक्रमण रोक्न अभियान सञ्चालन गरिएको हो ।

मास्क नलाएका ब्यक्ति भेट्ने बित्तिकै प्रहरीले सोध्ने र उत्नीखेरै मास्क उपलब्ध गराउने गरेको छ । ‘म पनि मास्क लगाउँछु, अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने मुल नाराका साथ बिहिबारदेखि जिल्लाको सदरमुकाम तम्घास बजारमा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको आयोजनामा ‘तपाईंको मास्क खोई ? अभियान सञ्चालन गरिएको छ ।

जिल्लामा पनि संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । यो अभियान जिल्लामा रहेका स्थानीय तहहरुले पनि सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरिन् । उनले कोभिड–१९ को नयाँ भेरियन्ट समेत आइसकेकाले सबै नागरिकलाई अनिवार्य मास्क, भौतिक दूरी तथा व्यक्तिगत सरसफाईमा ध्यान दिन आवश्यक रहेको भन्दै विश्वव्यापी महामारीबाट बच्नको लागि जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको पालना गर्न जिल्लावासी आम नागरिकलाई आग्रह गरिन् ।

जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु गरिएको तपाईंको मास्क खोइ ? अभियान तम्घास बजार परिक्रमा गरिएको थियो । उक्त अभियानमा रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधीहरु, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, नागरिक अगुवा, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, पत्रकार महासंघ, जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका सदस्यहरु, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु, सबै सुरक्षा निकाय तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्