विप्लवका दाई वीरजङ्गको निधन, शिवगढीमा भोलि श्रद्धाञ्जली सभा गरिँदै

| २०७८ असोज २९ गते १२: ५० मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का दाई तथा नेकपाका पूर्वपोलिटब्युरो र वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा दुःखद् निधन भएको छ । भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको गएराती अस्पतालमै निधन भएको हो ।विगत १० बर्षीय जनयुद्धमा ग्रामीण वर्गसङ्घर्ष उठाउन महत्वपुर्ण भूमिका खेलेका नेता वीरजङ्गले पञ्चायती निरङ्कुशता र नेपालको सामान्ती राजतन्त्रका बिरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

विप्लवले बैद्यसंग पार्टी फुटाएर नेकपा गठन गरेपछि सरकारले लगाएको प्रतिबन्धको समयमा लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो ।

दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा प्रहरी हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमण समेत भएको थियो । २०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् । वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।

नेता वीरजङ्गको शव भारतबाट भोलि नेपाल ल्याइने र उनको परिवार बसोबास गरिरहेको कपिलवस्तु शिवगढीस्थित घरमा नेकपा महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता र जनसमुदायबीच श्रद्धाञ्जलीसभा आयोजना गरिने पार्टी केन्द्रीय कार्यालय सचिव अशल क्षेत्रीले जानकारी दिएका छन् ।

जनयुद्धका बेला रोल्पा रुकुमलगायत आधार क्षेत्रमा नेतृत्व सम्हालेका नेता वीरजङ्गले माओवादी शान्तिप्रक्रियामा आएपछि लुम्बिनी क्षेत्रको रुपन्देही, कपिलबस्तुलगायतका जिल्लाहरुको नेतृत्व लिएका थिए ।

पहिलो संबिधानसभा बिघठनपछि २०६९ सालमा माओवादी विभाजन भएर बैद्य नेतृत्वको ड्यास माओवादी बन्दा लुम्बिनी ब्युरोको जिम्मेवारी सम्हालेका नेता वीरजङ्गले २०७१ मा विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएपछि मध्यपश्चिम कमाण्ड इन्चार्जको जिम्मेवारीमा हुँदा दाङबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रहरीले गिराफ्तारगरेपछि अदालतले छोड्ने र प्रहरीले पुनः गिरफ्तार गर्ने क्रम चलिरहदा उनलाई कोरोना संक्रमण भएको थियो । त्यसबेला राज्य र प्रहरीले उनलाई उपचार समेत गर्न नदिएका कारण उनको स्वास्थ्य अबस्था झन् जटिल बन्दै गएको थियो ।

त्यसबेला नेपालका राजनीतिककर्मी, मानव अधिकारवादी, पत्रकार र बुद्धिजिबीहरुले राज्यको रबैयाप्रति गम्भीर चासो राखेर बिरोध समेत जनाएका थिए । तर केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै वास्ता गरेको थिएन । धरौटीमा रिहा हुँदा बिरामी अबस्थामै रहेका वीरजङ्गलाई रिहा लगत्तै उपचारका लागि भारत लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्