नेपालले पायो थप ३२५ मेगावाट बिजुली भारतीय बजारमा बिक्री गर्ने अनुमति थप सामग्री

| २०७८ चैत २३ गते १५: ०० मा प्रकाशित

भारतको विद्युत्‌ मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत्‌ प्राधिकरणले नेपाललाई भारतीय विद्युत्‌ बजारमा थप ३२५ मेगावाट विद्युत्‌ बिक्री गर्न स्वीकृति दिएको नेपाल विद्युत्‌ प्राधिकरणले जनाएको छ। योसँगै नेपालले भारतीय विद्युत्‌ बजारमा कुल ३६४ मेगावाट विद्युत्‌ बिक्री गर्न पाउनेछ। यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत्‌ भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न स्वीकृति दिइएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाको गत साता भारत भ्रमणका क्रममा नेपालको थप विद्युत्‌ भारतीय बजारमा बिक्रीको विषयमा समझदारी भएको थियो। प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘इन्डिया नेपाल ज्वाइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर को-अपरेशन’ समझदारी भएको थियो।

भारतले नेपाली विद्युत्‌को बिक्री गर्न बाटो खोलेसँगै यो समझदारी कार्यान्वयनको चरणमा प्रवेश गरेको नेपाल विद्युत्‌ प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री देउवाको भ्रमणमा भारतले नेपालको जगेडा बिजुली खरीद गर्ने, नेपालको बिजुली बाङ्लादेशसम्म बिक्री गर्न लैजान सहयोग गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनाउने लगायत समझदारी भएका थिए।

यसबाट वर्षायाममा उत्पादित विद्युत्‌ मुलुकभित्र खपत गरी अतिरिक्त विद्युत्‌को निर्यात भई दुई देशबीचको व्यापार घाटामा कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने प्राधिकरणको दाबी छ।

नेपालको विद्युत्‌ जडित क्षमता दुई हजार मेगावाट नाघिसकेकाले वर्षायामका महीनामा विद्युत्‌ खेर जाने गरेको छ। गत वर्षको वर्षायाममा पनि करीब ५०० मेगावाट विद्युत्‌ खेर गएको थियो। आगामी वर्षायाममा नेपालमा खपत भएर करीब ७०० मेगावाटभन्दा धेरै बिजुली उब्रिने अनुमान गरिएको छ।

बढी भएको बिजुली भारतीय बजारमा बिक्री हुन नसकेमा त्यसले नेपाल विद्युत्‌ प्राधिकरण मात्रै होइन, देशकै अर्थतन्त्रलाई असर पर्ने अनुमान छ। तर, भारतले चीनको लगानी र संलग्नता भएका आयोजनाबाट विद्युत्‌ नकिन्ने बताउँदै आएको छ।
थप सामग्री : https://www.himalkhabar.com/news/129174

प्रतिक्रिया दिनुहोस्