गुल्मी बाट चार हजार ८२३ जना विद्यार्थी एसईई परिक्षमा सहभागी हुँदै

| २०७९ बैशाख ८ गते २१: ०० मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी ।गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परिक्षा एसईई मा चार हजार ८२३ जना विद्यार्थी सहभागी हुने भएका छन् । वैशाख ९ गते शुक्रबारदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ८२३ विद्यार्थी सहभागी हुने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका एकाइ प्रमुख लोकनाथ मरासिनीले नियमिततर्फ चार हजार ४९२ र प्राविधिक नियमिततर्फ २८७ जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिनुभयो ।

त्यस्तै, खुला नियमिततर्फ २१ जना र आंशिक तथा ग्रेडवृद्धि समूहतर्फ २३ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

जिल्लामा अहिले १६ वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनमा आएका छन् । यस वर्षको एसईईमा नयाँ एउटा विद्यालय थप भएको छ । जसमा गुल्मीदरबार गाउँपालिका चारपालाको ठूलापोखरा माध्यमिक विद्यालय रहेको इकाइ प्रमुख मरासिनीले भन्नुभयो, “यस विद्यालयबाट १४ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् ।”

अहिले १५ जना विद्यार्थी परिक्षा दिन अयोग्य रहेका छन् प्राविधिक सहायक अमृत पौडेलले भन्नुभयो, “७५ प्रतिशत हाजिरी नपुगेका तथा आवेदन फाराम भरेका तर राजस्व नबुझाएका । अनि विभिन्न कारणले विद्यालय आउन नसकेका विद्यार्थीहरु परीक्षा दिन अयोग्य हुन् ।”

एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिक सहायक पौडेलले जुन विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ, त्यो विद्यालयको प्रधानाध्यापक स्वतः त्यहाँको केन्द्राध्यक्ष हुने व्यवस्था भएको जानकारी दिनुभयो ।

अहिले परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुगिसकेको जानकारी दिनुहुँदै उहाँले प्रश्नपत्र पनि सम्बन्धित परीक्षा केन्द्र भएको नजिकैको प्रहरी चौकीमा पुयाइएको जानकारी दिनुभयो ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला परिक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइले परिक्षाका लागि आवश्यक व्यवस्थापन गरेको बताइएको छ । परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली तयार गरिएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र शिक्षा शाखाको प्रमुखले पनि अनुगमन गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्