राप्रपा महिला संघ​को बैठकमा कु'टा'कु'ट

| २०७९ असार २६ गते १८: २६ मा प्रकाशित

काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो ।

राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै अञ्जना शाह रावललाई नियुक्त गरेका थिए । शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेका हुन् । उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध जनाएका थिए ।

बैठकमा विवाद भएपछि दुवै पक्षबीच भनाभन भएको थियो । त्यसपछि हानाहान भएको हाे । हानाहानको क्रममा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । ​घाइते केहीको चावहिलस्थित हेल्पिङ हेन्स हस्पिटलमा उपचार भइरहेको राप्रपाका एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए ।

बैठकमा कुर्सी प्रहार गरिएको छ भने टेबुल तोडफोड गरिएको छ । बैठकमा दुई पक्षबीच झडप भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन त्यहाँ पुगेका थिए । पछिल्लो समय राप्रपामा विवाद देखिँदै गएको छ । ​स्रोत - रातो पाटि 

 

प्रतिक्रिया दिनुहोस्