प्रेस युनियनको केन्द्रीय महासचिवमा अर्यालको उम्मेदवारी घोषणा

| २०७९ असार २९ गते २२: ०० मा प्रकाशित

बुटवल । लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ । मिति नजिकिँए सँगै महाधिवेशन रौनक छाएको छ । 

यसै सन्दर्भमा नेपाल प्रेस युनियनको केन्द्रीय महासचिवमा नकुल अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । अर्यालले बुधबार सामाजिक सन्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । 

आफूले पत्रकारिता गर्दा देखे भोगेका समस्याहरुको समाधानका लागि सक्रिय हुनु नै आफ्नो उम्मेदवारीको कारण रहेको अर्यालको भनाई छ । ‘डेढ दशक लामो पत्रकारिताका दौरान देखे भोगेका समस्याहरुको समाधान गर्न प्रेस युनियनलाई सक्रिय राख्नु नै मेरो उद्देश्य हो । यही उद्देश्यभित्र निहित सबै लक्ष्य हासिल गर्न महासचिवका रुपमा काम गर्न चाहन्छु’, अर्याल भन्छन् । 

उनले प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता र पेशागत सुरक्षाका लागि प्रेस युनियनले महत्वपूर्ण ट्रेड युनियन संस्थाको रुपमा काम गर्नुपर्नेमा जोड दिएका छन् । 

उम्मेदवारी घोषणा गर्दै अर्यालले फेसबुकमा लेखेका छन्, -'आदरणीय अग्रज एवं साथीहरु ! नेपाल प्रेस युनियनको आसन्न नवाैं महाधिवेशनमा महासचिव पदकाे उम्मेदवारका रुपमा उभिएकाे छु । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता , पेशागत सुरक्षा र विधिसम्मत चल्ने सुदृढ प्रेस युनियन निर्माणमा सक्रिय रहने मेराे प्रयासलाई यहाँहरुले प्रारम्भिक संवादकै क्रममा व्यापक समर्थन जनाउनुभएकाेमा आभारी एवं उत्साहित छु । सबैसँग सम्पर्कमा रहने नै छु । साथ, सहयाेग, समर्थन र अमूल्य मतकाे अपेक्षा गर्दछु ।' 

प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा खटिने अर्यालले राजनीतिक बिटमा कलम चलाउँदै आएका छन् । 

पत्रकारिता क्षेत्रमै देखिएका विकृतिहरुलाई निर्मूल पार्न पनि युनियनजस्ता संस्थाहरु सक्रिय हुनुपर्ने अर्याल बताउँछन्  । युनियन अन्तर्राष्ट्रिय पत्रकार संघमा आवद्ध नेपालकै अग्रणी संस्थाको रुपमा रहेकोले सदस्यहरुको वृत्तिविकास र अवसर वृद्धिमा युनियनले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा अर्यालको जोड रहेको छ । 

पत्रकार महासंघको केन्द्रीय सदस्य हुँदा अर्यालले पहिलो बैठकमै महासंघको सदस्यता शुद्धिकरण, पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता, श्रमजीवी पत्रकारको पक्षमा सशक्त आन्दोलन लगायतका विषयमा लिखित एजेण्डा प्रस्तुत गरेका थिए । 

सरकारी स्वामित्वका सञ्चारमाध्यमका सेवाहरु निःशुल्क हुनुपर्ने एजेण्डा पनि पत्रकारिता क्षेत्रमा प्रवेश गराउने अर्याल नै हुन् । उनले महासंघको केन्द्रीय सदस्य छँदा राज्यले सूचनाको बिक्रीवितरण गर्न नमिल्ने भन्दै राष्ट्रिय समाचार समिति लगायत सरकारी स्वामित्व रहेका सेवा निशुल्क गर्न लिखित प्रस्ताव गरेका थिए । 

प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा खटिने अर्यालले राजनीतिक बिटमा कलम चलाउँदै आएका छन् । चितवनको कायाकैरन राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका अर्यालले चितवनकै सिनर्जी एफ.एम. र आक्रमण साप्ताहिकमा पनि काम गरेका थिए । 

काठमाडौंमा एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन, हिमालय टेलिभिजन, एपीवान टेलिभिजन र योहो टेलिभिजनमा काम गरेको अनुभव अर्यालसँग छ । उनले हिमालय टाइम्स राष्ट्रिय दैनिक र देशान्तर मिडिया ग्रुपमा पनि काम गरेका छन् । रेडियो नेपालको चर्चित कार्यक्रम ‘घटना र विचार’को सञ्चालक रहीसकेका अर्याल हाल नेपाल प्रेसको समाचार संयोजक रहेका छन् । 

उनले महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय महासचिवमा मतदान गरि विजयी बनाउनुहुन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्