परीक्षण गर्दा प्रशोधित पानी, फलफूल र दूध नै गुणस्तरहीन भेटियो, ११५ विरुद्ध मुद्दा दायर

| २०७९ सावन १७ गते २२: ५२ मा प्रकाशित

काठमाडौ। गत आर्थिक वर्ष २०७९/८० मा गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने १ सय १५ वटा उद्योग, फर्म तथा व्यापारीविरुद्ध सरकारले मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । 

बजार अनुगमन गरी संकलन गरिएका नमुना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीहरुविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले दायर गरिएका मुद्दामध्ये खाद्यान्न तथा दलहन तथा सोबाट बनेका पदार्थसम्बन्धी सबैभन्दा धेरै ३० वटा रहेको उनले बताए । उनका अनुसार दूध तथा दूग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चिया तथा कफीका ८ वटा मुद्दा दायर गरिएको छ।

यसैबीच विभागले बजारबाट नमुना संकलन गरी परीक्षण गर्दा प्रशोधित पानी, फलफूल र दूध पनि गुणस्तरहीन अर्थात खान/पिउन अयाेग्य रहेकाे पाइएको छ । विभागले गत आर्थिक वर्षमा बजार अनुगमन गरी ४ हजार ६ सय ६० वटा नमुना संकलन गरेको थियो । संकलित नमुनामध्ये ५.४२ प्रतिशत मापदण्ड विपरित पाइएको छ ।

अनुमगन गर्दा फल तथा सागपातजन्य वस्तु सबैभन्दा प्रतिकुल पाइएको छ । प्रवक्ता महर्जनले परीक्षणबाट फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमुना प्रतिकुल देखिएको बताए । उनले खाद्यान्न/दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दाना पदार्थका १७ वटा, दूध तथा दूग्ध पदार्थका १५ वटा, तेल तथा घिउजन्यका १४ वटा नमुना गुणस्तरहीन पाइएको बताए । त्यस्तै चिया कफीका १३ वटा, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्य १ र अन्यको ११ वटा गरी जम्मा २ सय २४ वटा नमुना प्रतिकुल पाइएको छ । विभागले गत आर्थिक वर्षको अवधिमा ७ सय ३ वटा नयाा उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने १ हजार ४ सय ८१ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरेको छ ।source -ekantipur 

प्रतिक्रिया दिनुहोस्