खसी भन्दै बाख्रीको मासु बेच्दै व्यापारी: ६ बाख्रा नियन्त्रणमा

| २०७९ असोज १८ गते १८: ४९ मा प्रकाशित

सिराज खान ,नेपालगञ्ज। नेपालगञ्जका मासु व्यावसायीले चाडपर्वको बेला खसी भनेर बाख्राको मासु बिक्री गर्नेगरेको पाइएको छ । स्थानीय रामलीला मैदान नजिकै रहेको मासु मण्डीका व्यापारीले काट्नका लागि लुकाएर राखेका ६ वटा बाख्रा फेला परेपछि सो रहस्य खुलेको हो । 

संयुक्त बजार अनुगमन टोलीले मासुमण्डी नजिकै रहेको जिल्ला प्रशासन कार्यालय परिसरको कुनामा र नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालयको पछाडिपट्टि बाख्रा लुकाएर राखेको पाइएको थियो । 

अनुगमन टोलीले ६ वटा बाख्रासहित एउटा खसी र एउटा भेडा लुकाएर राखिएको फेला पारेको छ । अनुगमन टोलीले मङ्गलबार जिल्ला प्रशासनमा खबर गरेपछि प्रशासनका सुरक्षाकर्मीले ती खसी र बाख्रा नियन्त्रणमा लिएका छन् । 

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले ती बाख्राका सम्बन्धमा कानुनअनुसार कारबाही अघि बढाइने बताउनुभयो । 

अनुगमनका क्रममा स्थानीय चाँद खसी मासु फ्रेस हाउसका सञ्चालकले मासु मापदण्डको उल्लङ्घन गर्दै काठमाडौं पठाउन लागेको पाइएको छ । खसीको खुर र फल मासु एउटै प्याकेजमा आइस समेत नहालेर पठाउन लागेको फेला परेको अनुगमन टोलीले जनाएको छ । 

ती पसल सञ्चालकलाई अनुगमन टोलीले मापदण्ड पालना गरेर मात्रै मासु पठाउन निर्देशन दिएको प्रजिअ खत्रीले बताउनुभयो । मासु पसलेले भेटेरीनरी प्रमाणपत्रसमेत नबनाएर मासु काठामाडौं पठाउन लागेको फेला परेको छ ।

यसैगरी अनुगमन टोलीले नेपालगञ्ज वडा २ स्थित मासु पसलहरुको पनि अनुगमन गरेको छ । त्यस क्रममा त्यहाँ रहेका कुनै पनि मासु पसलले मापदण्ड पालना नगरेको, फोहोर वातावरणमा मासु बेचिरहेको पाइएको टोलीमा सहभागी सदस्यले बताउनुभयो । 

बागेश्वरी सिनेमा हलको पछाडिको ढोकाकै छेउमा रहेको एक मासु पसल पनि तीन वर्षदेखि दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि प्रक्रिया पूरा नहुन्जेलसम्म सञ्चालनमा रोक लगाइएको छ ।

सबै मासु पसललाई मापदण्ड पालना गर्न निर्देशन दिँदै अर्काे पटक सुधार नगरिएको पाइएमा कारबाही गरिने अनुगमन टोलीले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । 

अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका एवं उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधि तथा पत्रकार सहभागी रहनुभएको थियो । स्रोत - गोरखपत्र अनलाइन 

प्रतिक्रिया दिनुहोस्