लुम्बिनी प्रदेशसभामा को–को दोहोरिए ? प्रत्यक्षमा एमालेको ७ सिट गुमायो, कांग्रेसले १० सिट बढायो

| २०७९ मंसिर ११ गते १९: ५७ मा प्रकाशित

लुम्बिनी प्रदेशसभामा १९ जना दोहोरिएका छन् । २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएकामध्ये १९ जना हालै सम्पन्न निर्वाचनमा पनि विजयी हुँदै दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् ।

एमालेका ९, नेपाली कांग्रेसका ५, माओवादी ४ र लोसाका १ जना दोस्रो कार्यकालका लागि चुनिएका हुन् । ५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ १८ सिट जितेको एमालेमा आधा सांसद पुराना छन् ।

एमालेबाट दोहोरिएर प्रदेशसभा सदस्य हुनेमा लीला गिरी–रुपन्देही २(१), भोजप्रसाद श्रेष्ठ–रुपन्देही २(२), तुलसीप्रसाद चौधरी–रुपन्देही–३(२), भुमिश्वर ढकाल–रुपन्देही ५(१) छन् । यस्तै चेतनारायण आचार्य–अर्घाखाँची १(२),रामजीप्रसाद घिमिरे–अर्घाखाँची १(२), विष्णु पन्थी–कपिलवस्तु १(१), दिनेश पन्थी–गुल्मी २(२) र अर्जुनकुमार केसी–कपिलवस्तु २(१) छन् ।

यस्तै पहिलो पटक प्रदेशसभा सदस्य हुनेमा एमालेका  चिन्तामणि पाण्डे–गुल्मी १(१), डिल्लीराज भुसाल–गुल्मी २(१) राजुप्रसाद श्रेष्ठ–पाल्पा १(१) र खेमबहादुर सारू –पाल्पा १(२) छन् । यस्तै, मधुशरणप्रसाद चौधरी–कपिलवस्तु १(२),नवराज लामिछाने– कपिलवस्तु ३(१), तुलसीराम शर्मा–प्युठान १(१), दुर्गाप्रसाद चौधरी–बाँके १(२) र रत्नबहादुर खत्री–बाँके ३(१) पनि पहिलो पटक प्रदेशसभा जाँदैछन् ।

यस्तै नेपाली कांग्रेसबाट २०७४ सालमा प्रत्यक्ष र समानुपातिकबाट प्रदेशसभा सदस्य भएकामध्ये ९ जना यस पटक चुनावी मैदानमा गएका थिए । जसमध्ये ५ जना दोस्रो कार्यकालका लागि जनताबाट अनुमोदित भएका छन् । रुपन्देही १(२)बाट वसिउद्दिन खां, दाङ २(२)बाट डिल्लीबहादुर चौधरी, बर्दिया १(१)बाट भुवनेश्वर चौधरी, पाल्पा २(१) बाट वीरबहादुर राना, नवलपरासी २(२)बाट बैजनाथ कलवार जैसवाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वसिउद्दिन खाँ लुम्बिनी प्रदेशका शिक्षा मन्त्री हुन् भने डिल्लीबहादुर चौधरी सहरी विकास र वीर बहादुर राना जलस्रोत मन्त्री हुन् ।

नेपाली कांग्रेसबाट पहिलो पटक प्रदेशसभा प्रवेश पाउनेमा अब्दुल रज्जाक गद्दी–रुपन्देही १(२), विश्व प्रेम पाठक–नवलपरासी १(१), देवकरणप्रसाद कलवार– नवलपरासी १(२), सुधाकर पाण्डे –कपिलवस्तु २(२), सरोज थापा (रोज राणा)–प्युठान १(२), अनुराग खड्का–दाङ १(२), राजु खनाल–दाङ २(१), प्रचण्ड विक्रम न्यौपाने दाङ ३(१) बाट निर्वाचित भएका छन् ।

यस्तै बादशाह कुर्मी–बाँके ३(२), धनबहादुर केसी–रुकुमपूर्व १(२),जन्मजय तिमिल्सेना–बर्दिया २(१), धनेन्द्र कार्की–गुल्मी १(२) पनि पहिलो पटक प्रदेशसभा जाँदैछन् ।

माओवादीबाट २०७४ सालमा प्रदेशसभा सदस्य भएकामध्ये ४ जना यो पटक दोहोरिएका छन् । इन्द्र जित थारु –दाङ १(१),कृष्णा केसी–बाँके १(१),तुलाराम घर्ती–पाल्पा २(२) यो पटक पनि निर्वाचित भएका हुन् । माओवादीबाट बागी उम्मेदवारी दिएर रोल्पा १ (२) मा चुनाव लडेका दीपेन्द्र पुन पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट जोखबहादुर महरा–रोल्पा १(१) र धनबहादुर मास्की–दाङ ३(२) पहिलो पटक प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे–रुपन्देही ३(१) पनि दोस्रो कार्यकालका लागि प्रदेशसभामा जाँदैछन् ।

प्रत्यक्षमा एमालेको ७ सिट गुमायो, कांग्रेसले १० सिट बढायो

२०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यस पटक ९ सिट गुमाएको छ । २०७४ मा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस भने गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्र ५ सिट जितेर तेस्रो बनेको छ । माओवादी केन्द्रले २०७४ मा वाम तालमेल हुँदा १४ सिट जितेको थियो ।

प्रदेशसभामा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन् भने सीके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ । यस पटक लुम्बिनी प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रुपामा थपिएका छन् ।source- ratopati

प्रतिक्रिया दिनुहोस्