चित्रबहादुर केसीको प्रश्न : ठूला-ठूला कुरा गर्ने गृह र सहरीमन्त्रीको के छ रेकर्ड ?

| २०७९ माघ ५ गते १६: ०६ मा प्रकाशित

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले सरकार बन्नुभन्दा अघि ठूला-ठूला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बनेपछि सार्वजनिक भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै केसीले अहिलेको संसद्को तस्बिर असाध्यै डरलाग्दो देखिएको बताएका हुन् । 

लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षी हुने भए पनि प्रधानमन्त्रीको चुनावमा नाटक देखाएको केसीले बताए । उनले भने, 'संसद्‍मा सत्तापक्ष हुन्छ, प्रतिपक्षी हुन्छ । हामीले अन्त देखेको पनि त्यही हो, नेपालमा पनि पहिले देखेको त्यही हो । तर प्रधानमन्त्रीको चुनावमा नाटक देखियो ।'

त्यस्तै केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेप्रति इंगित गर्दै भने, 'सरकार बन्नुभन्दा अगाडि कस्ता-कस्ता ठूला-ठूला कुरा आएका थिए । सरकार बनेपछि कसको के छ रेकर्ड ? गृहमन्त्रीको के छ रेकर्ड ? सहरिया मन्त्रीको के छ रेकर्ड ?'

नेपालको लोकतन्त्र धराप परेको र यसलाई बचाउन आवश्यक रहेको उनले बताए । त्यस्तै चुनावमा गरिएका वाचा पनि दल र नेताहरूले बिर्सिएर गठबन्धन बनाएको उनको भनाइ छ । 'सत्ताका लागि इमानजमानको कुरा पनि नहुने,जनतासँग गरेका प्रतिबद्धताका कुरा पनि नहुने,' उनले भने ।कान्तिपुर अनलाइन बाट साभार 

प्रतिक्रिया दिनुहोस्