सांसद भण्डारीलाई मुम्बई लैजाँदा ६ जना स्वास्थ्यकर्मी सँगै जाने

| २०७९ फागुन ४ गते १६: ३९ मा प्रकाशित

काठमाडौं । जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजान कीर्तिपुर अस्पतालबाट विमानस्थल लैजाने तयारी गरिएको छ ।

कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिने र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लैजाने भएको हो ।

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

अस्पतालका चिकित्सकका अनुसार भण्डारीको अवस्था गम्भीर छ । श्वासप्रश्वासको नली सुन्निन थालेको कारण जटिलता थपिँदै थएको छ । एयर एम्बुलेन्सको रुपमा लगिने सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गर्ने भएको छ । नर्भिकबाट ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीसँग जाने ६ जना चिकित्सकीय टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन् । क्रिटिकल केयर प्रमुख डा.प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति र फ्लाइट डाक्टर डा.रोशन शर्मा रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।

बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ ।

चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ । हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ ।स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्