रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन: सरकारमा जाने-नजानेबारे शुक्रवार टुङ्गाे लाग्ने

| २०८० बैशाख १८ गते १६: १४ मा प्रकाशित

काठमाण्डाै। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति एवम् सांसद रवि लामिछाने चयन हुनुभएको छ।  

आज साेमवार बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रूपमा पुनः चयन गरेको हो । यसअघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रवारकाे संयुक्त बैठकले गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ । सरकारसम्बन्धी छलफल चाहिँ शुक्रवारकाे संयुक्त बैठकबाट टुङ्गो लाग्ने निर्णय भएको छ ।’ 

आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ । डा. स्वर्णिम वाग्लेले अर्थनीति विभागको प्रमुखको जिम्मेवारी पाउनुभएको छ । शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र पर्यटन तथा संस्कृति विभागको जिम्मेवारी पाउनुभएको छ । 

यस्तै डा. मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियार मानव अधिकार, सोबिता गौतम कानुन तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्धन र दीपक बोहरा जनसम्पर्क विभाग प्रमुख बन्नुभएको छ । मनिष झा तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा समीक्षा, सुमना श्रेष्ठ शिक्षा र  विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख तोकिनुभएको हो ।उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्