सेवानिवृत्त शिक्षक रविलाल पौडेललाई सम्मान

| २०७९ पौष ९ गते १५: ०८ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गले वडा कार्यालयले एक समारोहका बिच अमर आधारभुत विद्यालयबाट सेवानिवृत्त हुनुभएका शिक्षक रविलाल पौडेललाई सम्मान गरेको छ । 

धातिवाङ्ग माविमा आउँनुभएका नवआगन्तुक शिक्षक नारायण आचार्यलाई स्वागत गरेको छ । २५ वर्षसम्म एउटै विद्यालयमा अध्यापन गराई सेवानिवृत्त हुनुभएका शिक्षक रविलाल पौडेलले सम्मान कार्यक्रम गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिदैँ नमुना वडा बनाउँनमा जनप्रतिनिधीको ध्यान पुग्नेमा विश्वस्त रहेको बताउँनुभयो । 

कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले शैक्षिक क्षेत्रको सुधारका लागी वडाले निती तथा कार्यक्रममार्फत नै योजना बनाएर लागेको बताउँनुभयो । उहाँले शिक्षकसँगै विद्यार्थीको क्षमता अभिवृद्धिका लागी कम्प्युटर तालिमको सुरुवात विद्यालयका शिक्षकलाई चालु आर्थिक वर्षमै सञ्चालन गर्ने बताउँदै एक शिक्षक एक ल्याप्टव कार्यक्रम अगाडी बढाउँने प्रतिवद्धता जाहेर गर्नुभयो । 

कार्यक्रममा पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्यहरु खगेश्वर पौडेल, हरिप्रसाद पौडेल, पुनिकुमारी कामी, धातिवाङ्ग माविका शिक्षक मेघनाथ पौडेल, अमर आधारभुत विद्यालयका प्रअ हिमलाल पौडेल, सिता आधारभुत विद्यालयका प्रअ राजबहादुर सारु, सुर्योदय आधारभुत विद्यालयका प्रअ घनश्याम पौडेल, कालिका आधारभुत विद्यालयका शिक्षक दुर्गा न्यौपाने, समाजसेवी तारापति पौडेल, लिलापति पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव गिता वाग्लेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्