भक्तिटोलमा बिश्राम बेन्च स्थापना र भित्तेपात्रो बिमोचन गरि त्रिवेणीले मनायो सहकारी दिवस

आर्थिक समृद्धिको निम्ती काम र उदेश्य मिल्ने सहकारी मर्जरमा जानुपर्छः नगरप्रमुख श्रेष्ठ

| २०७९ चैत २१ गते १३: ५५ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
चैत्र–२०,अर्घाखाँची
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले आर्थिक समृद्धिको निम्ती काम र उदेश्य मिल्ने सहकारी मर्जरमा जानुपर्नेमा जोड दिनुभएको छ । 

भक्तिटोलमा बिश्राम बेन्च स्थापना र भित्तेपात्रो बिमोचन

पछिल्लो समय आर्थिक संकट बढ्दै गएको अवस्थामा एउटै प्रकृतिका धेरै सहकारीबाट प्रतिफल निस्कन अप्ठ्यारो पर्ने भन्दै उहाँले बैंक जस्तै सहकारीलाई पनि मर्जरमा जान सुझाव दिनुभएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सन्धिखर्कमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले यस्तो सुझाव दिनुभएको हो । सहकारी क्षेत्रमा त्रिवेणीले गरेको प्रगति र समाजलाई पुर्याएको योगदानको उहाँले खुलेर प्रशंसा गर्नुभएको छ ।

 ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा त्रिवेणी बचत तथा ऋण सहकारी संस्था

एउटा सहकारीबाट लिएको ऋण तिर्न अर्को सहकारीबाट ल्याउने र पैसाको अपचलन गर्ने विकृतिलाई रोक्न सहकारीले प्रभावकारी अनुगमन गर्नपर्ने उहाँको भनाई छ । पछिल्लो समय गाउँ–गाउँमा टोले सहकारी र समूह दर्ता विनै चलेको र जसबाट आर्थिक ठगि हुन सक्ने भन्दै सचेत रहन पनि नगर प्रमुख श्रेष्ठले आम नागरिकलाई अपिल गर्नुभएको छ । 

त्यस्ता समूह सहकारीबाट ल्याएको ऋण मिटर ब्याजमा लगाउने अर्कोे विकृतिले पनि आर्थिक समस्या निम्त्याएको भन्दै यसलाई नियन्त्रण गर्ने योजनामा आफुहरु रहेको उहाँको भनाई छ । नाफाभन्दापनि सेवालाई प्राथमिकतामा राखेर १० प्रतिशत भन्दा कम ब्याजमा ऋण प्रवाह गर्न सहकारीलाई नगर प्रमुख श्रेष्ठको अर्को सुझाव छ । कार्यक्रममा जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसालले सहकारीले आर्थिक समृद्धिको अभियान्ताको काम गरेको दाबी गर्नुभएको छ । आर्थिक उपार्जन,बचत,स्वरोजगार संगै सामाजिक सचेतना र सामाजिक सत्कर्मका काममा सहकारीको अग्रणी भुमिका रहको उहाँको दाबी छ । 

भक्तिटोलमा बिश्राम बेन्च स्थापना र भित्तेपात्रो बिमोचन कार्यक्रम 

आर्थिक शसक्तिकरणको निम्ती सरकारले सहकारीसंग हातेमालो गर्नुको विकल्प नभएको उहाँको भनाई छ । सन्धिखर्कमा मात्रै सहकारीले अहिले १ अरब ३६ करोड बढिको पुजी परिचालन गरेको र २० हजार सेयर सदस्य आबद्ध रहेको सहकारी संघका अध्यक्ष भुसालको भनाई छ ।  सामाजिक उत्तरदायित्व अन्तरगत सन्धिखर्क–२,भक्तिटोलमा २ थान बिश्रामबेन्च स्थापना गरेको त्रिवेणीले आजै नयाँबर्ष २०८० सालको भित्तेपात्रो बिमोचन र शुभकामना आदान–प्रदान कार्यकम गरि सहकारी दिवस मनाएको हो।

बिश्रामबेन्च स्थापना

कार्यक्रम त्रिवेणीका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता,माधवा भुसालको स्वागत मन्तव्य र सचिव नारायण भुसालको संचालनमा सम्पन्न भएको त्रिवेणीका व्यवस्थापक तुल्सीराम खनालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्