८४ वर्षका जेष्ठ नागरिकलाई शितगंगाले सम्मानस्‍वरुप २५ हजार रुपैयाँ दिने

| २०७९ जेठ १८ गते १५: ०९ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको शितगंगा नगरपालिकाले नगर भित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मानस्वरुप २५ हजार रुपैयाँ दिने भएको छ । 

शितगंगा नगरपालिकाको प्रथम कार्यपालिकाको बैठकले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मानस्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख छबिलाल पौडेलले बताए ।  उनले वृद्धा अवस्थामा हेरचाह गर्ने घरपरिवारको लागि  सहज होस् भनेर रकम उपलब्ध गराउने निर्णय गरिएको बताए।

यस्तै, प्रथम कार्यपालिकाको बैठकले नगरपालिकाभित्र प्रयोग गर्ने गरी २ वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । सुत्केरी तथा गर्भवती महिला र विपन्न वर्गका मानिसलाई नि:शुल्क एम्बुलेन्स सञ्चालन हुनेछन् । अन्य व्यक्तिका लागि पनि निशुल्क प्रयोग गर्नेगरी एम्बुलेन्स खरिद गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताए । 

उनले नगरपलिका भित्र १२ कक्षासम्मको शिक्षा नि:शुल्क गर्ने समेत बैठकले निर्णय गरेको बताए ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत खनालले नगरपालिका निमार्ण भएसँगै ५ वर्षमा नगरपालिकाले प्राप्त गरेका उपलब्धीसहितको कार्य विवरण जनप्रतिनिधमाझ प्रस्तुत गरेका थिए । 

जिविस छदाकै करिब ५ करोड बेरुजु नगरमा देखिएको बताउँदै अहिले बेरुजु कम गराउन सबै कर्मचारी तथा जनप्रतिनिधिहरु समेत सजक रहेको बताए  । सधैं आन्तरिक आम्दानीको ५ वर्षको अवस्था सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत खनालले आम्दानीका अन्य बाटो खोजेर नगरको आन्तरिक आम्दानी बढाउने आधार रहेको बताए। 

साथै, टुक्रे योजनाले विकास निमार्णमा प्रगति गर्न नसकिएको बताउँदै आगामी वर्ष ५ लाख भन्दा साना योजना निमार्ण नगर्न जनप्रतिनिधिलाई सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस्