फ्रान्स समूह विजेता, पोर्चुगल नकआउट चरणमा

| २०७८ असार १० गते ०३: ०४ मा प्रकाशित

एजेन्सी । फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।

हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

फ्रान्सका गोलकिपर ह्युगो लोरिसले पेनाल्टी क्षेत्रमा डानिल पेरीएरालाई फउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको हो । जसमा रोनाल्डोले सहजै गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । पोर्चुगलका नेल्सन सेमिडोले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको हो ।

बेन्जिमाले फ्रान्सका लागि ५ वर्ष २ सय ५८ दिनपछि गोल गरेका हुन् । पछिल्लो पटक उनले फ्रान्सका लागि २०१५ को अक्टोबर ८ मा गोल गरेका थिए । 

दोस्रो हाफको सुरुवातमै फ्रान्सले अग्रता बनायो । पाउल पोग्बाको पासमा बेन्जिमाले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए ।

तर, ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-२ गोलको बराबरीमा ल्याए ।  फ्रान्सका जुलेसले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरेका हुन् ।

यससँगै रोनाल्डोले पोर्चुगलका लागि  १ सय ९ औं अन्तराष्ट्रिय गोल पूरा गरे । उनले सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

यस्तै रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गरेका छन् ।

रोनाल्डोले क्लोजको नाममा रहेको दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन् ।

फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २१ औं गोल पूरा गरे ।  ३६ वर्षीय रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् । यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए ।

जारी युरोमा रोनाल्डोको यो चौंथो गोल हो । रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्