लिग २ : नेपालले आज ओमानसँग खेल्दै

लगातार जितको अपेक्षा

| २०७८ भदौ २९ गते ०९: ५५ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

सिरिजको पहिलो खेलमै अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल सोही लयलाई कायम राख्दै लगातार जितको अपेक्षासहित मैदान उत्रनेछ ।

नेपाल र ओमानबीचको खेलमा मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

नेपालले लगातार दोस्रो दिनै खेल खेल्दैछ । सोमबार मेरिकासँग ९९ ओभर खेलेको नेपालले धेरै आराम पाएको छैन । ओमान भने पहिलो खेल खेल्दैछ ।

पछिल्लो समय ओमान क्रिकेटमा बलियो बन्दै आएको छ । त्यसैले लयमा रहेको नेपाल र घरेलु टोली ओमानबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

ओमान लिग २ को अंक तालिकामा शीर्ष स्थानमा छ । अहिलेसम्म १० खेल खेलेको ओमानले ८ जितबाट १६ अंक जोडेको छ ।

सन् २०२० फेब्रुअरीमा नेपालमै भएको लिग २ को दुवै खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । टीयू मैदान ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो ।

अहिलेसम्म ओमानसँग खेलेको दुवै ओडीआईमा नेपाल पराजित भएको थियो । त्यसैले पनि नेपाल ओमानमाथि ओडीआईमा पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।

अमेरिकालाई हराएपछि पाँच खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमै छ ।

सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग २ मा ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा एक टिमले ९ सिरिजमा कुल ३६ खेल खेल्न पाउनेछ ।

सबै खेलपछि लिग २ को शीर्ष तीनमा रहने राष्ट्रले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

Online Khabar

प्रतिक्रिया दिनुहोस्