न्यू डायमन्ड बन्यो महिलातर्फ एनभीए क्लब भलिबल च्याम्पियन

| २०७८ असोज १६ गते १५: ४५ मा प्रकाशित

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नजितामा पराजित गर्दै न्यू डायमन्ड स्पोर्ट्स क्लब छैठौं एनभीए क्लब भलिबल च्याम्पियन बनेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलको पहिलो सेट गुमाएको न्यू डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो । पहिलो सेट २४(२६ को नतिजामा गुमाएको न्यू डायमन्डले त्यसपछिका लगातार तीन सेट जित्दै च्याम्पियन बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा न्यू डायमन्डले दोस्रो २५–२१, तेस्रो २५–१७ र चौथो सेटमा २५–१७ नतिजा निकालेको हो । सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गर्दै एपीएफल फाइनलमा आइपुगेको हो । यस्तै च्याम्पियन न्यू डायमन्डले पनि विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य भएको एपीएफलाई पराजित गर्दै च्याम्पियन बनेको न्यू डायमन्डले उपाधिसँगै चार लाख रूपैयाँ नगद हात पारेको छ । यस्तै, उपविजेता एपीएफले दुई तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबले एक लाख रूपैयाँ प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पराजित भएका दुई टोलीबीच आज बिहान भएको तेस्रो स्थान निर्णायक खेलमा आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्