हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन

| २०७८ असोज १६ गते १८: १६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनलमा साविक विजेता हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

रोमान्चक बनेको खेलमा आर्मीले पहिलो सेट २६-२४ ले जितेको थियो । दोस्रो सेट हेल्पले २५-१७ ले आफ्नो बनायो । तर, तेस्रो सेट २५-१८ र चौंथो सेट ३३-३१ ले जित्दै आर्मीले उपाधि आफ्नो बनाएको हो ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्यो ।  एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो भएको हो ।

विभागीय डर्बीमा पुलिसले एपीएफमाथि २५-१७,२५-१८ र २५-१४ को जित निकाल्यो ।

महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले हात पार्यो ।  

शनिबार नै भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।

पहिलो सेट गुमाएको न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गरेको थियो ।  एपीएफले पहिलो सेटमा न्यु डायमन्डलाई २६-२४ ले हराएको थियो ।

तर, त्यसपछिको सेटमा न्यु डायमन्डले एपीएफमाथि २५-२१, २५-१७ र २५-१५ को जित निकाल्यो ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५-१७, २५-२० र २५-१७ को जित निकालेको थियो ।

च्याम्पियनसिपको महिला र पुरुष दुबैको विजेताले ४ लाख प्राप्त गरे ।  उपविजेताले २ लाख  प्राप्त गर्दा तेस्रोले १ लाख प्राप्त गरेका छन्  ।

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो ।
स्रोत - खेलपाटि 

प्रतिक्रिया दिनुहोस्