मुम्बईलाई हराउँदै दिल्ली प्लेअफमा

| २०७८ असोज १६ गते १९: ४९ मा प्रकाशित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा साविक विजेता मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा पुगेका छ ।

शनिबार साँझ सम्पन्न खेलमा मुम्बईमाथि रोमान्चक जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । चेन्नई सुपर किंग्स यसअघिनै प्लेअफमा पुगि सकेको छ । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका श्रेयस ऐर ३३ बलमा २ चौका सहित ३३ रनमा अविजित रहे । अन्तिम ओभरमा दिल्लीलाई जितको लागि ४ रन चाहिँएको थियो । स्पिनर कु्रनाल पान्ड्यालाई पहिलो बलमा रविचन्द्रन आश्विनले छक्का प्रहार गर्दै जित पक्का गराए । आश्विन २१ बलमा १ छक्का सहित २० रनमा अविजित रहे ।

दिल्लीका कप्तान ऋषभ पन्त २२ बलमा ३ चौका र १ छक्का सहित २६ रनमा आउट भए । दिल्लीका ओपनर पृथ्वी शा ६, शिखर धवन ८ र स्टिभ स्मिथ ९ रनमा आउट भएपछि दिल्लीले संघर्ष गरेको थियो । अक्षर पटेल ९ र शिम्रन हेटमायर १५ रनमा आउट भए । मुम्बईका ट्रेन्ट बोल्ट, जस्प्रित बुमराह, जयन्त यादव, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइलले १–१ विकेट लिए ।

त्यसअघि शाहजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले २६ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३३ रनको योगदान दिए । क्विन्टन डि कक १९, रोहित शर्मा ७, सौरभ तिवारी १५ र काइरन पोलार्ड ६ रनमा आउट भए । हार्दिक पान्ड्या १७, क्रुनाल पान्ड्या १३ र जयन्त यादव ११ रनमा आउट भए ।

दिल्लीका आवेश खानले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्किया र रविचन्द्रन आश्विनले १–१ विकेट लिए ।

मुम्बईको यस हारसँगै प्लेअफ सम्भावना कठिन बनेको छ । मुम्बईले बाँकी खेलमा दुई खेलमा जितसँगै अन्य टोलीको प्रदर्शन र नेटरनरेटमा निर्भर रहने छ । मुम्बईले अव मंगलबार राजस्थान रोयल्ससँग खेल्ने छ । दिल्ली क्वालिफायर नजिक छ । दिल्लीले सोमबार चेन्नईसँग खेल्ने छ । हैदराबाद प्लेअफ दौडबाट बाहिरि सकेको छ । बाँकी पाँच मध्य दुई टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।

अंक तालिका

चेन्नई सुपर किंग्स ११ खेलमा ९ जित र २ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ९ मा जित र ३ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । दिल्ली र चेन्नईले प्लेअफमा स्थान पक्का गराएका छन् । यी दुबै टोली क्वालिफायर खेल्ने सम्भावना छ ।

रोयल च्यालेन्जर्स बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । बेंगलोरको पनि प्लेअफ सम्भावना बलियो छ । कोलकाता १२ खेलमा ५ जित र ७ मा हार सहित १० अंकका साथ चौथो स्थानमा छ ।

पन्जाब १२ खेलमा ५ मा जित र ७ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । मुम्बई १२ खेलमा ५ मा जित र ७ मा हार सहित छैटौं स्थानमा छ । राजस्थान रोयल्स ११ खेलमा ४ मा जित र ७ मा हार सहित सहित ८ अंकका सात सातौं स्थानमा । सनराइजर्स हैदराबाद ११ खेलमा ९ मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा छ । हैदराबादको अघिल्लो चरणको सम्भावना सकिएको छ ।श्रोत - हाम्रो खेलकुद 

प्रतिक्रिया दिनुहोस्