चेन्नईमाथि राजस्थानको सानदार जित

| २०७८ असोज १६ गते २३: ४८ मा प्रकाशित

एजेन्सी। युवा ब्याटर यशस्वी जैसवाल र शिवम दुबेको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्समाथि सानदार जित हात पारेको छ । शनिबार राती चेन्नईलाई ७ विकेटले पराजित गर्दै राजस्थानले प्लेअफको सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा शिवम दुबे ४२ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ६४ रनमा अविजित रहे । आइपिएलमा डेब्यू खेल खेलेका ग्लेन फिलिप्स ८ बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे ।

जैसवाल २१ बलमा ६ चौका र ३ छक्का सहित ५० क्याच आउट भए । जैसवालले पाँचौं ओभरको पाँचौं बलमा जोश हेजलवुडलाई लङअफमा छक्का प्रहार गर्दै १९ बलमै अर्धशतक पूरा गरेका थिए । ओपनर जैसवाल र एविन लेविसले ५.२ ओभरमा ७७ रन जोड्दै विष्फोटक सुरुवात दिलाएका थिए । लेविस १२ बलमा २ चौका र २ छक्का सहित २७ रनमा क्याच आउट भए ।

पावर प्लेमा राजस्थानले बनाएको यो हालसम्मकै उच्च रन हो । तेस्रो विकेटका लागि दुबे र स्यामसनले ८९ रनको साझेदारी गर्दै सानदार जित पक्का गराए । स्यामसन २४ बलमा ४ चौका सहित २८ रनमा क्याच आउट भए । चेन्नईका शार्दूल ठाकुरले २ विकेट लिए ।

त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । चेन्नईका ओपनर ऋतुराज गायकवाड ६० बलमा ९ चौका र ५ छक्का सहित १ सय १ रनमा अविजित इनिङ खेलेपनि जिताउन सकेनन् । ऋतुराजको यो आइपिएलको पहिलो शतक हो ।

शतकको लागि अन्तिम बलमा पाँच रन चाहिँएको अवस्थामा डिप मिडविकेटमा मुश्ताफिजुर रहमानलाई छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । फाफ डु प्लेसिस १९ बलमा २ चौका र १ छक्का सहित २५ रनमा क्याच आउट भए । मोईन अली २१ रनमा आउट भए । रविन्द्र जडेजा १५ बलमा ४ चौका र १ छक्का सहित ३२ रनमा आउट भएका थिए । राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३ विकेट लिए ।

यो जितसँगै राजस्थानले शीर्षचारमा रहँदै प्लेअफ खेल्ने सम्भावना कायमै राखेको छ । राजस्थानले बाँकी दुबै खेलमा जित निकाल्न सके नेटरनरेटको आधारमा अन्तिम चारमा रहँदै प्लेअफ खेल्न सक्ने समिकरण छ । राजस्थानले मंगलबार मुम्बई र बिहीबार कोलकातासँग खेल्ने छ । कोलकाता र मुम्बई पनि गर वा मरको अवस्थामा छन् । चेन्नई शीर्षस्थानमा रहँदै प्लेअफमा पुगि सकेको छ ।

अंक तालिका

चेन्नई सुपर किंग्स १२ खेलमा ९ जित र ३ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ९ मा जित र ३ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ ।

रोयल च्यालेन्जर्स बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १२ खेलमा ५ जित र ७ मा हार सहित १० अंकका साथ चौथो स्थानमा छ ।

पन्जाब १२ खेलमा ५ मा जित र ७ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । राजस्थान रोयल्स १२ खेलमा ५ मा जित र ७ मा हार सहित १० अंकका छैटौं स्थानमा उक्लिएको छ । मुम्बई १२ खेलमा ५ मा जित र ७ मा हार सहित सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ११ खेलमा ९ मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा छ । हैदराबादको अघिल्लो चरणको सम्भावना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्