भारतले न्यूजिल्याण्डलाई ५ विकेटले हरायो

| २०७८ मंसिर १ गते २३: ०९ मा प्रकाशित

भारतले न्यूजिल्याण्डविरूद्धको टी-२० सिरिजमा विजयी सुरूआत गरेको छ।टी-२० सिरिजको पहिलो खेलमा पाहुना टोली न्यूजिल्याण्डलाई ५ विकेटले हराउँदै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको हो।

न्यूजिल्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले ५ विकेट गुमाएर १९.४ ओभरमा पुरा गर्‍यो। भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक ६२ रन बनाए। उनले ४० बलमा ३ छक्का र ६ चौका प्रहार गरे।  यस्तै कप्तान रोहित शर्माले ४८ रन बनाउँदा ओपनर केएल राहुलले १५ रन जोडेका थिए। ऋषव पन्तले १७ रन बनाउँदा श्रेयर ऐयरले ५ रन जोडे।

‍न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ तथा टिम साउथी, डारियल मिचेल र मिचेल सेन्टनरले १- १ विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो।

उसका लागि मार्टिन गुप्टिलले सर्वाधिक ७० रन बनाए । ४२ बल खेलेका उनले चार छक्का र तीन चौका प्रहार गरे। त्यस्तै, मार्क च्यापम्यानले पनि अर्धशतकीय पारी खेले। उनले ५० बलमा ६ चौका र दुई छक्काको सहयोगमा ६३ रन बनाए ।

टिम साइफर्टले १२ रन बनाउँदा बाँकी ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका लागि रविचन्द्रन आश्विन र भुवनेश्वर कुमारले समान दुई/दुई तथा मोहम्मद सिराज र दीपक चाहरले समान एक/एक विकेट लिए।

भारत र न्यूजिल्याण्ड टी-२० विश्वकप लगत्तै सोही प्रारूपको सिरिज खेलिरहेका हुन्। हालै सम्पन्न विश्वकप म्याचमा न्यूजिल्याण्डले भारतलाई ८ विकेटले हराएको थियो।

रोहित शर्माको कप्तानीमा रहेको भारतको टिममा विराट कोहली, जसप्रीत बुमराह, मोहम्मद शामी, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा छैनन्।

यता न्यूजिल्याण्ड टिमका कप्तान केन विलियम्सनले पनि विश्राम लिएका छन्।seto pati 

प्रतिक्रिया दिनुहोस्