कोहलीको सानदार ब्याटिङमा भारतको नाटकीय जित

| २०७९ कार्तिक ६ गते १७: ५५ मा प्रकाशित

एजेन्सी – विराट कोहलीको सानदार ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि चार विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका लागि विराट कोहलीले ५३ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनमा अविजित रहँदै अविश्वसनयि जित दिलाए ।
हार्दिक पान्ड्याले ३७ बलमा १ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । भारतलाई अन्तिम १२ बलमा ३१ रन चाहिँएको थियो । १९ औं ओभरमा हरिस रौफले १५ रन खर्चिएपछि अन्तिम ओभरमा १६ रन चाहिँएको थियो । कोहलीले अन्तिम दुई बलमा हरिस रौफलाई लगातार दुई छक्का हानेका थिए ।

अन्तिम ओभरको पहिलो बलमा हार्दिक पान्ड्या बाबर आजमबाट क्याच आउट भए । नवाजले दोस्रो बलमा दीनेश कार्तिकलाई एक रन दिए । कोहलीलाई तेस्रो बलमा दुई रन दिएपछि अन्तिम तीन बलमा १३ रन चाहिँएको थियो ।

कोहलीले चौथो बलमा छक्का हानेपछि ७ रन आवश्यक परेको थियो । छक्काको बल नो थियो । तीन बलमा ७ रन चाहिँएको थियो । लगत्तै अर्को बलमा वाइड फ्याँले ।

लगत्तै तीन रन वाइको रुपमा लिएपछि भारत जित नजिक पुगेको थियो । अर्को बलमा दीनेश कार्तिक स्टम्पिङ आउट भए । वाइड फ्याँलेपछि एक रन चाहिँएको थियो । अन्तिम बलमा दुई रन चाहिँएको थियो । फेरि वाइड फ्याँले । आश्विनले एक रन लिँदै जित पक्का गराए ।

एक समय ३१–४ को दयनीय अवस्थामा पुगेको भारतलाई विराट कोहली र हार्दिक पान्ड्याले ७८ बलमा १ सय १३ रनको सानदार शतकीय साझेदारी गर्दै जित नजिक पुर्याएका थिए ।

तीव्र गतिका बलर नसिम शाहले ओपनर लोकेश राहुललाई दोस्रो ओभरको पाँचौं बलमा चार रनमा बोल्ड गरे । अर्का तीव्र गतिका बलर हरिस रौफको बलमा रोहित शर्मा एज लागेर फस्ट स्लिपमा इफित्खार अहमदले ४ रनमै क्याच भएपछि पाकिस्तानले उत्कृष्ट सुरुवात गरेको थियो ।

रौफकै बलमा सूर्यकुमार यादव १५ रनमा मोहम्मद रिजवानबाट क्याच आउट भए । सूर्यले १० बलमा २ चौका हाने ।
अक्षर पटेल २ रनमा अल आउट भएपछि भारत ६.१ ओभरमा ३१–४ को दयनीय अवस्थामा पुगेको थियो ।

पाकिस्तानका हरिस रौफले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । नसिम शाहले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । मोहम्मद नवाजले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक ५२ रनमा अविजित रहे । इफ्तिखार अहमद ३४ बलमा २ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए ।

खराब सुरुवात गरेपनि तेस्रो विकेटका लागि अहमद र मकसुदले ५० बलमा ७६ रनको साझेदारी गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीले इफ्तिखर अहमदलाई एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । त्यसपछिका ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम गोल्डेन डक आउट भए । बाबर आजमलाई युवा तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बलमै एलबीडब्लू आउट गरेका थिए । बाबरले रिभ्यु लिएपनि सफल हुन सकेनन् ।

अर्शदीप सिंहले नै चौथो ओभरको अन्तिम बलमा मोहम्मद रिजवानलाई ४ रनमा भुवनेश्वर कुमारबाट क्याच गराए । अर्शदीपको बाउन्सर बलमा रिजवान फाइन लेगमा सट खेल्ने धुनमा क्याच आउट भएका थिए । रिजवानले १२ बलमा १ चौका हाने । पाकिस्तानका प्रमुख ब्याटर बाबर र रिजवान आउट भएपछि भारतले सानदार सुरुवात गरेको थियो

१४ औं ओभरमा हार्दिक पान्ड्याले दुई विकेट लिए । ठूलो सटको धुनमा शादब खान ५ र हैदर अली २ रनमा सूर्यकुमार यादवबाट क्याच आउट भए । ११ औं ओभरमा अक्षर पटेललाई इफ्तिखारले तीन छक्का हानेका थिए ।

इफ्तिखार अहमद आउट हुनुअघि पाकिस्तान १२.२ ओभरमा ९१–२ मा थियो । इफित्खार आउट भएपछि १६ ओभरमा ११६–६ को अवस्थामा पुगेको थियो । आसिफ अली अर्शदीपसिंहको बलमा २ रनमा दीनेश कार्तिकबाट क्याच आउट भए । शाहिन शाह अफ्रिदी ८ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए । हरिस रौफ ६ रनमा अविजित रहे ।

भारतका युवा तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । भुवनेश्वर कुमारले एक विकेट लिए ।

पाकिस्तानले अव बिहीबार जिम्बावेसँग खेल्नेछ । भारतले विहीबार नै नेदरल्यान्ड्सँग खेल्नेछ । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् ।

सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।स्रोत - हाम्रो खेलकुद 

प्रतिक्रिया दिनुहोस्