पाकिस्तानलाई हराएर इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप उपाधि

| २०७९ कार्तिक २७ गते १९: ०५ मा प्रकाशित

काठमाडौं । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ ।

इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो ।

इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अविजित ५२ रन बनाए । ४५ रन हुँदा ३ विकेट गुमाएर दबावमा रहेकाे इंग्ल्याण्डलाई उनले जितसम्म पुर्‍याएका हुन् ।

स्टाेक्सले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । इंग्ल्याण्डका लागि विश्वकपमा स्टोक्सको निर्णायक प्रदर्शन यो दोस्रोपल्ट हो । उनले यसअघि घरेलु भूमिमा भएको एकदिवशीय विश्वकप फाइनलमा न्युजिल्याण्डविरूद्द अविजित ८४ रन बनाउँदै इंग्ल्याण्डलाई उपाधि दिलाएका थिए ।

इंग्ल्याण्डका लागि ओपनर कप्तान जस बट्लरले २६ तथा ह्यारी ब्रुकले २० रनको योगदान दिए । स्टाेक्सले माेइन अलीसँग मिलेर पाँचाैं विकेटका लागि ४८ रनकाे साझेदारी गर्दै जितकाे आधार तय गरेका थिए । अलीले १९ रनकाे याेगदान गरे । बलिङमा पाकिस्तानका ह्यारिस रउफले २ विकेछ लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो । सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतकीय साझेदारी गरेका ओपनिङ जोडी कप्तान बाबर आजम र मोहम्मद रिजवान छिट्टै आउछ हुँदा पाकिस्तान इनिङ्सको सुरुवातदेखि नै रक्षात्मक बन्न पुगेको थियो ।

रिजवान १५ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका मोहम्म ह्यारिसले पनि ८ रनमात्र जोड्न सके । कप्तान बाबर २८ बलमा ३२ रन बनाएर आउट हुँदा ११.१ ओभरमा पाकिस्तान ८४–३ को अवस्थामा पुगेको थियो । त्यसको अर्को ओभरमै आउट भएका इफ्तिकर अहमदले रनको खाता खोल्नै सकेनन् ।

पाँचौं विकेटका लागि शान मसुद र सादव खानले ३६ रनको साझेदारी गरेका थिए । शानले २८ बलमा सर्वाधिक ३८ रन बनाए । सादव २० रनमा आउट भए । त्यसपछि पाकिस्तानका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

इंग्ल्याण्डका साम कुरानले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चिए । आदिल रशिद र क्रिश जोर्डनले २ तथा बेन स्टोक्सले १ विकेट लिए ।अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्