फिफा विश्वकप २०२६ छनाेट : यमनविरूद्द नेपालले २- २ गाेलकाे बराबरी खेल्याे

| २०८१ जेठ ३० गते ०२: ०६ मा प्रकाशित

फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गतकाे आफ्नो अन्तिम खेल नेपालले यमनसँग २- २ गाेलकाे बराबरी खेलेर टुंग्याएकाे छ । 

खेलकाे पहिलाे हाफमा प्राप्त पेनाल्टी सदुपयाेग गरेकाे यमनले खेलकाे ९ मिनेटमा नै अग्रता लियाे । 

तर, खेलकाे २२ औं मिनेटमा यमनका डिफेन्डरले दिएकाे ब्याकपास खाेस्दै नेपालका लागि संजाेग विष्टले बराबरी गाेल फर्काए । खेलकाे पहिलाे हाफ  १- १ गाेलकाे बराबरीमा सकियाे । 

दाेस्राे हाफमा नेपालका लागि खेलकाे ६६ औं मिनेटमा जीलेस्पीजंग कार्कीले थप एक गाेल गर्दै नेपाललाई नेपाललाई २-१ काे अग्रता दिलाए । 
निर्धारित ९० मिनेटसम्म २-१ काे अग्रता कायम राखेकाे नेपाल थपिएकाे ६ मिनेटकाे इञ्जुरी समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य बन्याे । 
यमनका लागि खेलकाे ९१ औं मिनेटमा माेहम्मद अब्दुल्लाह अल दहिले गाेल गर्दै  फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोटमा नेपाललाई जीतकाे स्वाद चाख्नबाट वञ्जित गरे । 

नेपालले आजकाे खेलमा एक खेलाडी परिवर्तन गरेको थियाे। युएईविरुद्ध खेलेका मिडफिल्डर वसन्त जिम्बाको स्थानमा डिफेन्डर सनिश श्रेष्ठले टाेलीमा स्थान बनाएका थिए । 

नेपाल पहिलाे लेगमा यमनसँग २–० ले पराजित भएको थियाे । यस अघि विश्वकप छनोटको समूह एच मा रहेको नेपालले समुह चरणका पाँचै खेलमा हार व्यहाेरेकाे थियाे । 

नेपाल युएईसँगको दुई खेलमा समान ४–० ले पराजित भएको थियो भने बहराइनसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्