दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले १७ बर्ष पछि जित्यो टी–२० विश्वकपको उपाधि

| २०८१ असार १६ गते ०२: ४७ मा प्रकाशित

काठमाडौँ । टी–२० विश्वकपको उपाधि भारतले जितेको छ ।भर्खरै सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारत च्याम्पियन बनेको हो । पहिलो पटक फाइनल खेलेको दक्षिण अफ्रिका उपाधि जित्नबाट चुक्यो । भारतको भने यो दोस्रो उपाधि हो ।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रनमात्रै बनाउन सक्यो । उसका लागि हेनरिक क्लासेनले २७ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै, क्विन्टन डि ककले ३९, ट्स्टिन स्टब्सले ३१, डेभिड मिलरले २१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ तथा अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन जोड्यो । उसका लागि विराट कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए ।

५९ बल खेलेका उनले ६ चौका र २ छक्का हिर्काए । यस्तै, अक्षर पटेलले ४७, शिबम् दुबेले २३ रन जोडे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले २, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्